प्रभु बैंक सीईओसहित चार जनालाई ३ दिन म्याद थप

२६ मंसिर २०८२, शुक्रबार १७:३०

काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनामाथि प्रहरीले थप तीन दिनसम्म अनुसन्धान गर्ने अनुमति पाएको छ। उच्च अदालत पाटनले शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि आवश्यक अनुसन्धान जारी राख्न म्याद थप गरेको हो।

मंसिर १४ गते पक्राउ परेका उनीहरूलाई यसअघि पनि दोस्रो पटक पाँच दिनको म्याद थप गरिएको थियो। यससँगै गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि पनि तीन दिनका लागि थप अनुसन्धान गर्न अदालतबाट अनुमति मिलेको छ। शाक्य मंसिर १७ गते पक्राउ परेका थिए।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि समेत सीआईबीले कर्जा अपचलनको आरोपमा अनुसन्धान अघि बढाइरहेको छ। करिब १ अर्ब रुपैयाँ ठगी भएको दाबीसहित प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गराएको उजुरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते प्रहरीको नियन्त्रणमा लिइएको थियो।

सोही मुद्दामा सीआईबीले कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर सम्बन्धित कागजातहरू संकलन गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*