मुआब्जा विवाद चर्किँदा केपिलासगढीको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः बन्द

काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिकामा निर्माण गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना निजी जग्गाको मुआब्जा नदिएको विवादका कारण पुनः बन्द भएको छ । प्रवर्द्धक कम्पनीले आयोजनाले ओगटेको जग्गाको क्षतिपूर्ति उपलब्ध नगराएपछि स्थानीय जग्गाधनीले टरबाइनमा जाने पानी हटाएर उत्पादन ठप्प पारेका हुन् ।
स्थानीयका अनुसार मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र मुआब्जा उपलब्ध गराउने लिखित सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएपछि सोही दिनदेखि आयोजना बन्द गरिएको हो । यसअघि पनि लामो समयदेखि मुआब्जा नपाएको भन्दै स्थानीयले गत चैतमा समेत आयोजना बन्द गराएका थिए ।
सुङ्देल र केपिलासगढी गाउँपालिका–६ दिप्सुङको सिमानामा पर्ने रावाखोलामा निर्माण गरिएको यो आयोजना २०७७ भदौ १६ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । स्थानीयले पोल गाडिएको जग्गाको क्षतिपूर्ति दिइए पनि तार र पाइपलाइनले ओगटेको जमिनको मुआब्जा नपाएको गुनासो गरेका छन् ।
जग्गाधनीले आयोजना सञ्चालनका लागि प्रयोग गरिएको सम्पूर्ण जग्गाको निष्पक्ष मूल्याङ्कन गरी तत्काल क्षतिपूर्ति दिनुपर्ने, आयोजनासँग सम्बन्धित सडक मर्मत तथा ढल व्यवस्थापन गर्नुपर्ने, हिउँदमा खोलामा न्यूनतम पानी छोड्नुपर्ने र सरकारी जग्गा प्रयोग गर्दा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने माग राखेका छन् ।