शेयर धितो राखेर कर्जा लिने बढ्दैः ४७ बैंक तथा वित्तीय संस्थाद्वारा साढे १ खर्ब प्रवाह, कुनले कति ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा लगानी वृद्धि गरेका हुन् ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताहरुले १ खर्ब ४६ अर्ब १४ करोड ३७ लाख रुपैयाँ कर्जा लिएका छन् । उक्त शेयर धितो कर्जा गत आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिको तुलनामा २९.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब १३ अर्ब ६ करोड ७८ लाख रुपैयाँ शेयर धितो कर्जा प्रदान गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना आन्तरिक व्यवस्थाअनुसार व्यक्तिको स्वामित्वमा रहेका पुराना शेयर वा भविष्यमा खरिद गरिने शेयरलाई धितो मानेर कर्जा प्रवाह गर्न सक्छन् । जसअन्तर्गत लगानीकर्ताले आफ्नो नाममा दर्ता भएको शेयर धितो राखी कर्जा लिन पाउने व्यवस्था छ । यद्यपि शेयर धितो राखेर लिएको कर्जा जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भए पनि व्यवहारमा अधिकांश कर्जा पुनः शेयर खरिदमै लगानी भइरहेको देखिन्छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह क्रमशः बढ्दो क्रममा रहेको छ ।
वाणिज्य बैंकले मात्रै दिए १ खर्ब २३ अर्ब शेयर धितो कर्जा
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकले मात्रै शेयर लगानीकर्ताहरुलाई १ खर्ब २३ अर्ब ४३ करोड २१ लाख रुपैयाँ शेयर धितो कर्जा मार्फत प्रवाह गरेका छन् । बैंकले प्रवाह गरेको शेयर धितो कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५.३३ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकले शेयर धितो कर्जा मार्फत ९१ अर्ब २१ करोड १४ लाख रुपैयाँ प्रदान गरेका थिए ।
समिक्षा अवधिसम्ममा २ वाणिज्य बैंकले मार्फत शेयर धितो कर्जा घटाएका छन् भने अन्य बैंकहरुको उल्लेख्य बढेको छ । यसअवधिसम्ममा नबिल बैंकले सर्वाधिक शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकको उक्त कर्जा ४३ प्रतिशतले बढेर १५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

साथै, ग्लोबल आइएमई बैंकको शेयर धितो कर्जा १८ प्रतिशतले बढेर १३ अर्ब १९ करोड, कुमारी बैंकको २० प्रतिशतले बढेर ९ अर्ब ९८ करोड, प्राइम बैंकको ७८ प्रतिशतले बढेर ९ अबै ९८ करोड, सिद्धार्थ बैंकको १२ प्रतिशतले बढेर ८ अर्ब ८७ करोड, लक्ष्मी सनराइज बैंकको १०० प्रतिशतले बढेर ८ अर्ब २७ करोड र राष्ट्रिय वाणिज्य बैंकको ८१ प्रतिशतले बढेर ७ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
यसअवधिमा एनआईसी एशिया बैंकले ७० प्रतिशत र नेपाल बैंकले ७.४ प्रतिशतले उक्त कर्जा घटाएको देखिन्छ ।
विकास बैंकहरुले दिए झण्डै १९ अर्ब शेयर धितो कर्जा
कात्तिक मसान्तसम्मको अवधिमा विकास बैंकले १८ अर्ब ८८ करोड ८६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ७.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको कात्तिक महिनासम्म विकास बैंकहरुले १७ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरुमा सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको शेयर धितो कर्जा १५.७१ प्रतिशतले बढेर ३ अर्ब ८० करोड २० लाख रुपैयाँ रहेको हो ।

त्यस्तै, समिक्षा अवधिमा गरिमा विकास बैंकको ५.६० प्रतिशत, महालक्ष्मी विकास बैंकको १०.८९ प्रतिशत र सिन्धु विकास बैकको २६.४१ प्रतिशतले शेयर धितो कर्जा प्रवाह घटेको छ ।
फाइनान्सले भने घटाए शेयर धितो कर्जा
समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुको शेयर धितो कर्जा भने ९.६८ प्रतिशतले घटेर ३ अर्ब ८२ करोड २९ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सहरुले ३ अर्ब २३ करोड २७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
१५ फाइनान्स मध्ये ९ कम्पनीको शेयर धितो कर्जा घटेको छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा फाइनान्सहरुमा सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्नेमा आइसिएफसि फाइनान्स रहेको छ । कम्पनीको उक्त कर्जा १४.६९ प्रतिशतले बढेर ४६ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।

सेन्ट्रल फाइनान्सले भने शेयर धितो कर्जा सर्वाधिक वृद्धि गरेको छ । कम्पनीका शेयर धितो कर्जा १५१ प्रतिशतले बढेर १८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।













