राताम्य यात्राले तनाबमा लगानीकर्ताः गुम्दै अर्बौ लगानी, मार्केट बनाउने प्रयास असफल!

काठमाडौँ । नेपाली पुँजी बजारले निरन्तर ओरालोको यात्रा तय गर्दा लगानीकर्ताहरू ठूलो क्षतिमा छन् । लगातार घट्दो बजारले न त लगानीकर्तालाई बजारबाट बाहिर निस्कन सजिलो बनाएको छ न त सक्रिय कारोबारमा फर्कन अवसर दिएको छ ।
हालको बजार अवस्था २६ सयदेखि २७ सय बिन्दुको वरिपरि स्थिर भएर लामो समयदेखि तलमाथि भइरहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ । अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा केही सुधार पहल भए पनि ती प्रभावकारी हुन सकेका छैनन्। सरकारले पुँजी बजारमा स्थिरता र पारदर्शिता ल्याउने दाबी गरेको भए पनि व्यवहारमा बजार अस्थिरताबाट बाहिर आउन सकेको छैन। केही कम्पनीका नयाँ आईपीओ सूचीबद्ध हुँदा सर्किट लागेका भए पनि अधिकांश कम्पनीहरू मूल्य स्थिरतामा अड्किएका छन्। यसले लगानीकर्तामा थप दबाब सिर्जना गरेको देखिन्छ ।
बजारको उतार–चढावमा राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, साथै बैंक तथा वित्तीय संस्थाहरूको त्रैमासिक वित्तीय परिणामले पनि योगदान पु¥याएको छ। धेरै बैंकको नाफामा गिरावट र खराब कर्जाको अनुपात बढ्दा दीर्घकालीन लगानीकर्ताले जोखिम मूल्यांकन गर्न गाह्रो भएको छ। विश्लेषकहरूले बजारको अस्थिरतामा ठूलो लगानीकर्ता समूह र संगठित माफियाको भूमिका रहेको आशंका पनि व्यक्त गरिरहेका छन् ।
नीति निर्माण तहदेखि नियामक निकायसम्म प्रयास देखिए पनि अपेक्षित सुधार नहुँदा लगानीकर्ताको विश्वास कमजोर भएको छ । सामान्यतया लाभांश सिजनमा बजारमा सकारात्मक उछाल देखिनु स्वभाविक भए पनि यसपटक लगातार गिरावटले लगानीकर्तालाई अझ निराश बनाएको छ। बैंकको ब्याजदर घटे पनि त्यसले बजारमा उत्साह फर्काउन पर्याप्त भएको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अकंले घटेर २५९४.८७ बिन्दुमा कायम भएको छ। आज ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
आइतबार ११ उपसूचक राताम्य भएका छन् । आज विकास बैंकको ०.३४ प्रतिशत, फाइनान्स समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
यसदिन ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने आज स्थिर देखिएको हो ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।














