नेको इन्स्योरेन्सबाट हाटा गरेर सिईओ अशोक खड्का बेपत्ता, केन्द्रीय सदस्यको रुपमा एमालेको ११ औं महाधिवेशनमा भाग लिँदै

२८ मंसिर २०८२, आईतवार १६:४९

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्का कार्यालयको काममा हाटा (हाजिर गरेर टाप) गरेर बेपत्ता भएका छन् । उनी दुई दिनदेखि हाटा गरेर कार्यालयबाट बेपत्ता भएको कम्पनी स्रोतले जनाएको छ ।

कार्यालयको काम छोडेर हाटा गरेका सिईओ खड्का नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा सक्रिय रुपमा सहभागी भइरहेको पाइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औं महाधिवेशन सफल पार्न सक्रिय पार्न नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्का सक्रिय सहभागी भइरहेका छन् । भृकुटीमण्डपस्थित एमालेको बन्दसत्रमा सहभागी एक नेताले दिएको जानकारी अनुसार खड्का हिजोदेखि नै सक्रियतापूर्वक सहभागी भइरहेका छन् र आज पनि सहभागी छन् । नेको इन्स्योरेन्स स्रोतका अनुसार सिईओ खड्का हिजो विहान ९ बजे हाजिर गरेर टाप (हाटा) गरेका थिए । उनले आज पनि विहानै ९ बजे नै हाटा गरेर कार्यालयबाट फरार भएको कम्पनी कर्मचारीहरुले जनाएका छन् ।

ज्ञानेश्वरस्थित नेको इन्स्योरेन्स कम्पनीबाट हाटा गरेका खड्का भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा बसेर सहभागी भइरहेका छन् । सार्वजनिक कम्पनीको सिईओको जिम्मेवार लिएका खड्का नैतिकता र इमान्दारितालाई तिलाञ्जली दिँदै सिईओ पदबाट राजिनामा नगरी एमालेको ११ औं महाधिवेशनमा भाग लिइरहेका छन् ।

उता, नियामक निकाय नेपाल बीमा प्राधिकरण भने चाल नपाए झै गरी कानमा तेल हालेर बसिरहेको छ । यसअघि बीमापोष्टमा समाचार प्रकाशित भएपछि राजिनामा दिइसकेको भन्दै पन्छिदै एमालेको आधिकारिक वेभसाईटबाट फोटो समेत हटाउन लगाएर जोगिने कोसिस गरेका थिए । तर, अहिले एमालेको महाधिवेशन प्रतिनिधिमा नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्काको नाम महाधिवेशन प्रतिनिधि, केन्द्रीय लेखा आयोग सदस्यको रुपमा राखिएको छ । (हेर्नुस स्क्रीनसट)

 

नियामक बीमा प्राधिकरणले कानुनको अभावमा कारवाही गर्न नसकिएको जनाउँदै आएको छ । पुरानो बीमा ऐन हुँदा राजनीतिक पार्टीका केन्द्रीय सदस्यहरुलाई सिईओ तथा अध्यक्ष बन्न प्रतिबन्ध थियो । नयाँ बीमा ऐन आएपछि संस्थागत सुशासन सम्बन्धी कतिपय बिषयहरु बीमा ऐनमै समावेश भएकोले हटाइएको थियो । अशोक खड्का चिवतनमा सम्पन्न भएको नेकपा एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय लेखा आयोग सदस्य बनेका थिए । उनी केन्द्रीय सदस्य हुँदा पुरानै ऐन कार्यान्वयनमा थियो । नेता खड्काले नै बीमा प्राधिकरणभित्र सेटिङ हानेर संस्थागत सुशासन सम्बन्धी व्यवस्थामा सिईओमाथि लगाइएको निधेष हटाएको विश्वास गरिएको छ ।

सार्वजनिक कम्पनीमा राजनीतिक पार्टीका केन्द्रीय सदस्यले नियुक्ती लिइरहेको बिषयमा बीमा प्राधिकरणले कारवाही गर्न नसके पनि अर्थमन्त्रालयबाटै भएपनि कारवाही हुनुपर्ने माग आम लगानीकर्ताहरुले गरिरहेका छन् । आम सर्वसाधारणको लगानी रहेको नेको इन्स्योरेन्स कम्पनीलाई एमालेकरण गर्ने सिईओ खड्काको प्रयासमा बीमा प्राधिकरण लाचार बनेर तामासा हेरिरहन्छ वा कारवाही गर्छ त्यो भने प्रतिक्षाकै बिषय बनेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*