आजसम्म लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको शेयर किन्नेले लाभांश पाउने

काठमाडौं । आज मंसिर २९ गतेसम्म लक्ष्मी सनराइज बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर किन्ने शेयरधनीहरूले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।
यी दुवै कम्पनीले आ–आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
लक्ष्मी सनराइज बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर तिर्न) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्न पुस १४ गते काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजे २५औं वार्षिक साधारणसभा बस्दैछ।
कालिञ्चोक दर्शनले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद (कर तिर्न) गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि पुस १५ गते काठमाडौंको गौशलास्थित बद्रिनाथ होटलमा बिहान साढे ११ बजे ११औं वार्षिक साधारणसभा बस्दैछ।













