प्रतिकित्ता १५० रुपैयाँमा निफ्राको १० लाख ८० हजार कित्ता शेयर बेचेर बाहिरिंदै आइएमई लिमिटेड

काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का संस्थापक शेयरधनी आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् भने शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न चाहने विद्यमान शेयरधनीले सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्ने भएकाले यो शेयर किन्न कम्तीमा १६ करोड २० लाख रुपैयाँ लाग्नेछ।
शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरू निवेदन प्राप्त नभएको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।













