निर्वाचनमाथि शंका नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । वर्तमान नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित समयमै निर्वाचन सम्पन्न हुने कुरामाथि शंका नगर्न आग्रह गरेका छन्।
सोमबार कास्कीको पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रलाई सम्बोधन गर्दै उनले निर्धारित समय फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागिपरेको बताएका हुन्।
उनले सम्बोधन गर्दै आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भई सोही बमोजिम तयारी भइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन्।
साथै उनले शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकारको भूमिका ठूलो हुने भएकाले निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे। भय रहित, निष्पक्ष र शान्तिपूर्ण तवरले चुनाव सम्पन्न गर्न सरकारले विभिन्न कदमहरू चालेको र त्यसमध्ये सुरक्षा गोष्ठी पनि एक भएको उनले बताएका छन्।
उनले जेनजी आन्दोलनलाई अपनत्व गरी सरकारले दस्तावेजीकरणका साथ जेनजी माग र शहीदका सपनालाई टुंगोमा पुर्याउने गरी प्रधानमन्त्री र जेनजीबीच सम्झौता भई राजपत्रमा प्रकाशन समेत गरी कार्यान्वयका लागि काम थालिसकिएको पनि बताएका छन्।













