व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको ब्याजदर घट्दो, पुसमा औषत ५ प्रतिशतभन्दा तल झर्‍यो

२९ मंसिर २०८२, सोमबार ११:२३

काठमाडौँ । वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर निरन्तर ओरालो लाग्दै जाँदा यसको औषत दर ५ प्रतिशतभन्दा तल झरेको छ। पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेसँगै यस्तो निक्षेपमा पाइने अधिकतम औषत ब्याजदर ४.८३ प्रतिशतमा सीमित भएको हो।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार मंसिर महिनामा ५.०४ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पुसमा घटेर ४.८३ प्रतिशतमा पुगेको छ। यसरी एक महिनाको अवधिमा औषत ब्याजदर करिब ०.२१ प्रतिशतविन्दुले घटेको देखिन्छ।

पुस महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै कटौती प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले गरेका छन्, जहाँ ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाइएको छ। त्यस्तै प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतविन्दुले दर घटाउँदा कुमारी बैंकले करिब ०.३८ प्रतिशतविन्दुले ब्याजदर कम गरेको छ।

यद्यपि सबै बैंकहरूले ब्याजदर घटाएका भने छैनन्। सात वाणिज्य बैंकले पुस महिनामा पनि मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अघिल्लै दर कायम राखेका हुन्।

दर घटे पनि पुस महिनामा सबैभन्दा उच्च ब्याजदर दिने बैंकहरू भने ग्लोबल आइएमई बैंक र हिमालयन बैंक नै रहेका छन्। यी दुई बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका छन्। अर्कोतर्फ, सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले प्रस्ताव गरेको छ, जहाँ अधिकतम ब्याजदर ४.२५ प्रतिशतमा सीमित गरिएको छ।

संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा पनि कमी आएको छ। मंसिरको तुलनामा पुस महिनामा वाणिज्य बैंकहरूको संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर करिब ०.१३ प्रतिशतविन्दुले घटेको छ। यस अवधिमा पाँच वाणिज्य बैंकले संस्थागत मुद्दतिको ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लै दरलाई निरन्तरता दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*