बैंकले गैरबैंकिङ सम्पत्ति स्वीकार गर्दा सतप्रतिशत नोक्सानी गर्न नपर्ने, यी ब्यवस्था भए परिवर्तन

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकहरूले ऋणीको धितो स्वीकार्ने प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले जारी गरेको नयाँ परिपत्रअनुसार अब बैंकहरूले कम्तिमा ३ पटकसम्म धितो लिलाम गर्दा पनि बिक्री नभएमा मात्र उक्त धितो आफैंले स्वीकार गर्नुपर्ने भएको छ।
पहिलेको व्यवस्था अनुसार दुई पटक लिलाम गरिसकेपछि पनि बिक्री नभए बैंकले स्वतः गैरबैंकिङ सम्पत्तिमा उक्त धितो स्वीकार्नुपर्ने बाध्यता थियो।
साथै, राष्ट्र बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेपछि १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने पूर्वको व्यवस्था हटाएको छ। यसले बैंकहरूको नोक्सानी व्यवस्थाको भार घटाउने अपेक्षा गरिएको छ।
त्यस्तै, किस्तावन्दी वा मासिक किस्ता कर्जामा अग्रिम भुक्तानीका कारण किस्तावन्दी रकम वा किस्ताको संख्या कम भएमा, परिवर्तनशील व्याजदर भएका कर्जाको ब्याजदर परिवर्तन हुँदा समयावधि परिवर्तन भएमा वा व्याजदर परिवर्तनले किस्ता रकम परिवर्तन भएमा र ऋणीले लिखित अनुरोध गर्दा आय विश्लेषणपछि वर्षमा बढीमा एकपटक किस्ता रकम परिवर्तन भएमा पुनरसंरचना वा अतिरिक्त नोक्सानी व्यवस्था आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
भूलवश कालोसूची सूचीमा समावेश भएकाहरुको सम्बन्धमा कालोसूचीमा समावेश नहुनु पर्ने कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था भूलवश कालोसूची वा डिफल्टर सूचीमा समावेश गरिएको रहेछ भने यस सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखले निर्णय गरी अनुरोध गरेमा अविलम्ब त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई अभिलेख नै नरहने गरी कालोसूचीबाट हटाउनु पर्ने सर्कुलरमा भनेको छ ।
साथै, सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित संस्थाले यस सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्नेछ। विदेश भ्रमण गर्दा प्रत्येक पटक संचालक समितिबाट निर्णय गर्नुपर्नेछ ।
सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् मात्र शाखा समायोजन गर्न सकिनेछ । शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्नेछ ।
दुई वा सोभन्दा बढी शाखाहरु समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।
शाखा समायोजन गरेको ३ कार्यदिनभित्र अनुसूची १४.२ बमोजिमको विवरण यस बैंक समक्ष पेश गर्नुपर्ने जनाएको छ ।













