बजारमा झिनो सुधारः लगानी डुब्दै जादा निराशमा नै लगानी, किन मार्केटमा अस्थिरता ?

काठमाडौँ । नेपाली पुँजी बजारले निरन्तर ओरालो यात्रा गरेको बेला आज केही झिनो अंकले मात्र वृद्धि देखाएको छ । बजार लामो समयदेखि २५ सयदेखि २६ सय बिन्दुको वरिपरि स्थिर रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ । निरन्तर घट्दो बजारले लगानीकर्तालाई न त बजारबाट सजिलै बाहिर निस्कन र न त सक्रिय कारोबारमा फर्कन अवसर दिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा केही सुधार पहल भए पनि ती प्रभावकारी हुन सकेका छैनन्। सरकारले पुँजी बजारमा स्थिरता र पारदर्शिता ल्याउने दाबी गरेको भए पनि व्यवहारमा बजार अस्थिरताबाट बाहिर आउन सकेको छैन। केही कम्पनीका नयाँ आईपीओ सूचीबद्ध हुँदा सर्किट लागेका भए पनि अधिकांश कम्पनीको मूल्य स्थिरतामा अड्किएका छन्, जसले लगानीकर्तामा थप दबाब सिर्जना गरेको छ।
बजारको उतार–चढावमा राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, साथै बैंक तथा वित्तीय संस्थाहरूका त्रैमासिक वित्तीय परिणामले पनि योगदान पुर्याएको छ। धेरै बैंकको नाफामा गिरावट र खराब कर्जाको अनुपात बढ्दा दीर्घकालीन लगानीकर्ताले जोखिम मूल्यांकन गर्न गाह्रो भएको छ। विश्लेषकहरूले बजारको अस्थिरतामा ठूलो लगानीकर्ता समूह र संगठित माफियाको भूमिका रहेको आशंका पनि व्यक्त गरेका छन्।
नीति निर्माण तहदेखि नियामक निकायसम्म प्रयास देखिए पनि अपेक्षित सुधार नहुँदा लगानीकर्ताको विश्वास कमजोर भएको छ। सामान्यतया लाभांश सिजनमा बजारमा सकारात्मक उछाल देखिनु स्वभाविक भए पनि यसपटक लगातार गिरावटले लगानीकर्तालाई अझ निराश बनाएको छ। बैंकको ब्याजदर घटे पनि त्यसले बजारमा उत्साह फर्काउन पर्याप्त भएको छैन।
यद्यपि, अधिकांश नीतिहरू बजारको पक्षमा रहेको, पर्याप्त तरलता रहेको, अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकहरू सकारात्मक रहेको र बजार लामो समय माथिल्लो बिन्दुमा नपुगेको कारणले गर्दा, कतिपय लगानीकर्ताहरूका अनुसार जुनसुकै समयमा बजारले गति लिन सक्ने सम्भावना रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अकंले बढेर २५०१.६१ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन पाँच उपसूचक राताम्य भएको छ भने ८ उपसूचकमा हरियाली आएको छ । फाइनान्स समूहको शेयर सर्वाधिक ०.९० प्रतिशतले बढेको हो ।
सोमबार १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।














