वित्तीय कर्मचारीमाथि आक्रमण बढ्दै, संघले भन्यो, ‘सुरक्षा सुनिश्चित नभए सडकमा आउँछौं’

काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले बैंक, बीमा, लघुवित्त, पूँजी बजार र अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु माथि भएको अराजक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। संघका अनुसार, केही समूह तथा व्यक्तिहरुले बैंक, लघुवित्त र अन्य वित्तीय संस्थाको शाखा कार्यालयमा आक्रमण गरी कर्मचारीहरूमाथि अभद्र व्यवहार तथा भौतिक हिंसा गर्दै आएको घटनाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य बनाएको छ।
संघले विशेष रूपमा ज्योति विकास बैंकका प्रादेशिक कार्यालयका उप–प्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि कालोमोसो लगाई जुत्ताको माला समेत लगाएर कुटपिट गरेको घटनालाई गम्भीरता पुर्वक उठाएको छ। यस घटनाप्रति खेद व्यक्त गर्दै संघले नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुमाथि बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गरेको छ।
संघले कानून विपरीत अराजक गतिविधि नगर्न तथा आक्रमण गर्ने समूह तथा व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारवाही गर्न सरकार र सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराएको छ। संघले चेतावनी दिंदै यस प्रकारका घटनाहरु दोहोरिएमा कर्मचारीहरु कार्यालयको काम छाडेर दबाबमूलक विरोध कार्यक्रमहरुका लागि सडकमा आउन बाध्य हुने जनाएको छ ।
बैंक, लघुवित्त र अन्य वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको पेशागत हकहितको संरक्षण, वित्तीय क्षेत्रमा पारदर्शिता, सुशासन कायम राख्न र मर्यादित कामको वातावरण सिर्जना गर्न यस प्रकारको गैरकानूनी र अराजक गतिविधि रोक्नु आवश्यक संघले विज्ञप्तिमा भनेको छ ।
यस्तो छ विज्ञप्ति
नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय संस्थाहरुमा कार्यरत २१,००० भन्दा बढी कर्मचारीहरुलाई संगठित गर्दै क्रियाशिल रहेको नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले सरकारी तथा निजी क्षेत्रमा स्थापित भएका ५१ वटा वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनहरुको नेतृत्व गर्दै वित्तीय क्षेत्रका सम्पूर्ण कर्मचारीहरुको पेशागत हकहितको संरक्षण एवं वित्तीय क्षेत्रमा पारदर्शिता, सुशासन कायम तथा मर्यादित कामको सिर्जना गरी यस क्षेत्रको विकास र स्थायित्वका लागि निरन्तर क्रियाशिल रहँदै आएको छ ।
नेपालको प्रचलित कानूनद्वारा स्थापित बैंक, बीमा तथा अन्य वित्तीय संस्थाहरुको नियामक निकायहरुद्वारा जारी नीति÷निर्देशनको अधिनमा रही विगत लामो समय देखि लाखौं व्यक्तिहरुलाई बैंकिङ्ग÷वित्तीय सेवा प्रदान गर्दै आइरहेको तथ्य सर्वविदितै छ । यद्यपि पछिल्लो समय केही समूह तथा व्यक्तिहरुले बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुको विषयमा आम जनमानसमा नकारात्मक सन्देश प्रवाह हुने खालका भ्रामक तथा गलत प्रचार–प्रसारको असरले गर्दा अराजक समूह तथा व्यक्तिहरुले बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुको शाखा कार्यालयहरुमा आक्रमण गरी क्षति पु¥याउने तथा कार्यरत कर्मचारीहरु माथि अभद« व्यवहार तथा भौतिक आक्रमण निरन्तर भइरहेको घटनाहरु प्रति यस संघ खेद प्रकट गर्दछ ।
यसै सन्दर्भमा, ज्योति विकास बैंकका प्रादेशिक कार्यालयका उप–प्रबन्धक श्री सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी श्री सविन श्रेष्ठलाई आफ्नो कार्य जिम्मेवारी निर्वाह गर्ने क्रममा केही अराजक समूहले कालोमोसो दल्ने तथा जुत्ताको माला समेत लगाई कुटपिट समेत गरेको घटना प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
राज्यले अत्यावश्यक सेवा अन्तरगत वर्गिकरण गरेको बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरु तथा त्यहाँ कार्यरत कर्मचारीहरु माथि निरन्तर भइरहेको आक्रमणको कारण वर्तमान समयमा कर्मचारीहरु त्रासपूर्ण वातावरणमा कार्य गरिरहनु परेको छ । तसर्थ, कानून विपरीतको अराजक घटनाहरु हुन नदिन तथा बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरु एवं त्यहाँ कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्न यस संघको नेपाल सरकार तथा सरोकारवाला सम्पूर्ण नियकायहरुसंग पुनः जोडदार माग गर्दछ ।
बैंक, लघुवित्त तथा वित्तीय संस्थाहरु तथा कार्यरत कर्मचारीहरु माथि आक्रमण गर्ने र ति संस्थाको सम्पत्तिमा क्षति पु¥याउने समूह तथा व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याई कारवाही गरी यस क्षेत्रलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति हुने वातावरण मिलाइयोस् भनी नेपाल सरकार तथा सरोकारवाला निकायहरुको ध्यानाकृष्ट गराउदछौँ । यस संघको अनुरोधलाई वेवास्ता गरी पुनः यस प्रकारका घटनाहरु दोहोरिएमा बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरु कार्यालयको काम छाडेर दबाबमूलक विरोधका कार्यक्रमहरुका साथ सडकमा आउन बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौँ । तसर्थ, बेलैमा यस्ता अराजक र गैर कानूनी कार्यलाई निष्ोध गरी बैंक, लघुवित्त तथा वित्तीय क्षेत्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न जोडदार माग गर्दछौँ ।













