चार महिनामै ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो, कात्तिकमा मात्रै १ खर्ब ३३ अर्ब

२९ मंसिर २०८२, सोमबार १५:४१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा कुल ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो।

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको कात्तिक महिनामा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह ८.२ प्रतिशतले मात्रै वृद्धि भएको थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ रहेको छ। गत वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ मात्रै थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*