राष्ट्र बैंकको तथ्याङ्क, ‘कात्तिकमा महँगी दर उल्लेख्य रूपमा घट्यो’

काठमाडौँ । मुलुकमा महँगीको दबाब उल्लेख्य रूपमा कम भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिकसम्मको आर्थिक अवस्थासम्बन्धी विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशतमा झरेको छ। गत वर्षको सोही अवधिमा यो दर ४.५९ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार कात्तिक महिनामै मात्र उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको कात्तिकमा ५.६० प्रतिशत थियो। पछिल्लो तथ्यांकले मूल्यवृद्धिको गति स्पष्ट रूपमा सुस्ताएको संकेत गरेको छ।
समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यसूचक ऋणात्मक अवस्थामा पुगेको छ। यस समूहअन्तर्गत मुद्रास्फीति ३.३२ प्रतिशतले घटेको छ भने गैर–खाद्य तथा सेवा समूहमा भने ३.६९ प्रतिशतको वृद्धि देखिएको छ। गत वर्षको सोही अवधिमा खाद्य समूहमा ९.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ३.६५ प्रतिशत मुद्रास्फीति रहेको थियो।
खाद्यतर्फ घ्यू तथा तेल, गैर–मदिराजन्य पेय पदार्थ र दुग्धजन्य वस्तुको मूल्य बढे पनि तरकारी, मरमसला तथा दाल–गेडागुडीको मूल्य उल्लेख्य रूपमा घटेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा, शिक्षा, कपडा तथा जुत्ताचप्पल, सुर्तीजन्य वस्तु तथा घरायसी सामग्रीको मूल्यमा वृद्धि देखिएको छ। यद्यपि बीमा तथा वित्तीय सेवासम्बन्धी उप–समूहको मूल्य सूचक सामान्य रूपमा घटेको छ।
क्षेत्रगत रूपमा हेर्दा सहरी क्षेत्रमा मूल्यवृद्धि ग्रामीण क्षेत्रको तुलनामा बढी देखिएको छ। प्रदेशगत आधारमा कोशी र मधेश प्रदेशमा मुद्रास्फीति तुलनात्मक रूपमा उच्च रहँदा गण्डकी र सुदूरपश्चिम प्रदेशमा न्यून स्तरमा सीमित देखिएको छ।
भौगोलिक हिसाबले काठमाडौं उपत्यका र तराई क्षेत्रमा मुद्रास्फीति पहाड र हिमाली क्षेत्रभन्दा केही माथि रहेको राष्ट्र बैंकले जनाएको छ।













