बाह्य बचतमा ठूलो वृद्धि: चालु खाता र शोधनान्तर दुवै मजबुत

२९ मंसिर २०८२, सोमबार १५:५८

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालको बाह्य क्षेत्र थप मजबुत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा देशको चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँले मात्र बचतमा थियो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा गणना गर्दा गत वर्ष सोही अवधिमा १ अर्ब १० करोड डलरले बचतमा रहेको चालु खाता चालु आर्थिक वर्षको पहिलो चार महिनामा बढेर १ अर्ब ९९ करोड डलर पुगेको छ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफरमा पनि उल्लेख्य वृद्धि देखिएको छ। समीक्षा अवधिमा यस्तो ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४७ करोड रुपैयाँ मात्र रहेको थियो।

यस्तै, प्रत्यक्ष वैदेशिक लगानीतर्फ भने केही कमी देखिएको छ। समीक्षा अवधिमा इक्विटीमार्फत २ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। गत वर्षको सोही अवधिमा यस्तो लगानी ५ अर्ब ७६ करोड रुपैयाँ थियो।

यसैबीच, समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा गत वर्ष १ अर्ब ५३ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको पहिलो चार महिनामा २ अर्ब २६ करोड डलरले बचतमा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*