नेप्से सूचकाङ्क र बजार पुँजीकरण घट्यो, सूचीकृत कम्पनी र धितोपत्र गतिविधिमा वृद्धि

काठमाडौँ। २०८२ कार्तिक मसान्तमा नेप्से सूचकाङ्क २५४०.५८ कायम भएको छ जुन २०८१ कात्तिक मसान्तको २७४८.७९ भन्दा घटेको हो।केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो ।
सो अवधिमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड पुगेको छ, अघिल्लो वर्षको ४३ खर्ब ७६ अर्ब ९० करोडको तुलनामा घटेको देखिन्छ। कुल बजार पुँजीकरण अब गार्हस्थ्य उत्पादनको ६९.८५ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्ष ७६.६७ प्रतिशत थियो।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ कार्तिक मसान्तसम्म सूचीकृत कम्पनीहरूको संख्या २८३ पुगेको छ। यसमा १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनीहरू रहेका छन्। अघिल्लो वर्षको सोही अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २६७ थियो।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बजार पुँजीकरणको हिस्सा ५२.७ प्रतिशत, जलविद्युत कम्पनीको १५.४ प्रतिशत, लगानी कम्पनीको ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.९ प्रतिशत, व्यापारिक संस्थाको ५.० प्रतिशत, होटलको २.९ प्रतिशत र अन्य समूहका कम्पनीको १०.६ प्रतिशत रहेको छ।
२०८२ कार्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्जमा ९ अर्ब २ करोड सेयरको चुक्ता मूल्य ८८९ अर्ब ५३ करोड रहेको छ। आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा १९ अर्ब २ करोड बराबरको साधारण सेयर, ५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ५ अर्ब बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर, २ अर्ब ४० करोड बराबरको बोनस सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल ३६ अर्ब १६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ४३ करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ३ अर्ब ३७ करोड बराबरको साधारण सेयर गरी कुल १६ अर्ब ५७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ।













