आन्दोलनका बीच पनि मजबूद अर्थतन्त्रः बाह्य क्षेत्र बलियो, रेमिट्यान्स र मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि

काठमाडौँ । जेन जी आन्दोलनपछि देशको अर्थतन्त्र धरापमा पर्ने आशंका भए पनि उपलब्ध तथ्याङ्कले आशा जगाएको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार अधिकांश आर्थिक सूचक पुनः लयमा फर्किएका छन् । व्यवसाय, लगानी र उत्पादनका गतिविधि क्रमशः सुधार हुँदै गएका छन्, जसले अर्थतन्त्रमा स्थिरता र ग्रोथको संकेत गरेको छ ।
सरकार परिवर्तन भएपनि अर्थतन्त्रलाई गतिशील बनाउने प्रयास निरन्तर जारी छ । शुशीला कार्की नेतृत्वमा बनेको जेन जी सरकारले अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विभिन्न कदम अघि बढाएको छ भने अर्थमन्त्रालयका मन्त्री रामेश्वर खनालको समन्वयकारी भूमिकाले आर्थिक गतिविधिलाई निरन्तरता दिएको छ ।
निर्माण उद्योग र सेवा क्षेत्र मन्दीपछि पुनः सक्रिय हुँदै गएका छन् । निजी क्षेत्र र व्यवसायीहरूको मनोबल बढाउन सरकारले विभिन्न योजना र सहुलियत उपलब्ध गराउँदै आएको छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि सहज ऋण उपलब्ध गराएर आर्थिक गतिशीलता बढाउने काम गरिरहेका छन् ।
चार महिनामै ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशत बढी हो । कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको कात्तिकको १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो ।
अमेरिकी डलरमा आधारित विप्रेषण आप्रवाह पनि वृद्धि भएको छ। समीक्षा अवधिमा यस आप्रवाह २५.३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तै समय ८.२ प्रतिशत मात्र वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार कात्तिकसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ जना पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ जना रहेको छ।
कात्तिकसम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो
कात्तिक मसान्तसम्म नेपालमा कुल विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्म यो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ मात्र थियो ।
अमेरिकी डलरमा आधारित विदेशी मुद्रा सञ्चितिमा पनि बृद्धि देखिएको छ । राष्ट्र बैंकका तथ्यांकअनुसार डलरमा सञ्चिति १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड पुगेको छ। कुल सञ्चितिमा राष्ट्र बैंकसँग २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३० अर्ब ८५ करोड रहेको छ। राष्ट्र बैंकमा मुद्रा सञ्चिति १२.८ प्रतिशत र बैंकमा २५.८ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको विदेशी विनिमय सञ्चितिको संरचनासमेत सार्वजनिक गरेको छ। भारतीय मुद्राको अंश कुल सञ्चितिको २१.९ प्रतिशत रहेको छ। चालु विदेशी मुद्रा सञ्चितिले बैंकिङ क्षेत्रसँग लगभग २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ । साथै, कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७.८ प्रतिशत पुगेको छ, जुन गत असारको तुलनामा उल्लेखनीय वृद्धि हो ।
नेपालको बाह्य क्षेत्र मजबूत, चालु खाता २ खर्ब ७९ अर्ब नाघ्यो
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालको बाह्य क्षेत्र थप मजबुत देखिएको छ । देशको चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँले मात्र बचतमा थियो ।
अमेरिकी डलरमा आधारित विश्लेषणमा पनि चालु खाता वृद्धि देखिएको छ। राष्ट्र बैंकका अनुसार गत वर्ष सोही अवधिमा १ अर्ब १० करोड डलरले बचतमा रहेको चालु खाता चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब ९९ करोड डलरमा पुगेको छ। यसैबीच, खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ४७ करोड रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो ।
प्रत्यक्ष वैदेशिक लगानी भने केही कमी देखिएको छ। समीक्षा अवधिमा इक्विटीमार्फत २ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन गत वर्षको ५ अर्ब ७६ करोड रुपैयाँभन्दा कम हो। यस्तै, शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको छ, अमेरिकी डलरमा हेर्दा गत वर्षको १ अर्ब ५३ करोड डलरको शोधनान्तर स्थिति अहिले २ अर्ब २६ करोड डलरमा पुगेको छ ।
महँगी नियन्त्रणमा, वार्षिक मुद्रास्फीति १.५३ प्रतिशतमा झ¥यो
मुलुकमा महँगीको दबाब उल्लेख्य रूपमा कम भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशतमा झरेको छ, जुन गत वर्षको सोही अवधिको ४.५९ प्रतिशतभन्दा निकै कम हो । कात्तिक महिनामै मात्र मुद्रास्फीति १.११ प्रतिशतमा सीमित रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्यसूचक ऋणात्मक क्षेत्रमा पुगेको छ । यस समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले घटेको छ भने गैर–खाद्य तथा सेवा समूहमा ३.६९ प्रतिशतको वृद्धि देखिएको छ । खाद्य समूहमा तरकारी, दाल–गेडागुडी र मरमसला जस्ता वस्तुहरूको मूल्य घट्दा, घ्यू, तेल र दुग्धजन्य वस्तुहरूको मूल्य केही बढेको राष्ट्र बैंकले जनाएको छ।
क्षेत्रगत विश्लेषणमा सहरी क्षेत्रमा मुद्रास्फीति ग्रामीण क्षेत्रमा भन्दा बढी देखिएको छ। प्रदेशगत हिसाबमा कोशी र मधेश प्रदेशमा मूल्यवृद्धि उच्च रहँदा गण्डकी र सुदूरपश्चिम प्रदेशमा न्यून स्तरमा सीमित छ । भौगोलिक हिसाबले काठमाडौं उपत्यका र तराई क्षेत्रमा मुद्रास्फीति पहाड र हिमाली क्षेत्रभन्दा केही माथि रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् तथ्याङ्कको पूर्णपाठः-
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Four-Month-data-of-2082.83













