लाभांश र मर्जर प्रस्ताव सहित स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा बिहान ११ बजे २४औं वार्षिक साधारणसभा बोलाएको छ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र ४.३६३५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै हाल कायम संस्थापक शेयरमध्ये ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयरको अनुपात ६०ः४० बाट ५१ः४९ कायम गर्ने, उपयुक्त वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखपरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गतेका दिन बुक क्लोज गर्ने भएको छ। यसर्थ पुस ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।













