एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यको भोट माग्दै अशोक खड्का, नेकोको सिईओबाट राजीनामा दिन आनाकानी

काठमाडौं । सार्वजनिक सेवा प्रदायक नेको इन्स्योरेन्स कम्पनीमा सिईओ पदमा बहाल रहेकै अवस्थामा अशोक खड्का नेकपा एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएर भोट मागिरहेका छन् । नेकपा एमालेको केन्द्रीय सदस्य पद कार्यकारी पद जत्तिकै हो । नेको इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेको सिईओ खड्काले एउटा कार्यकारी पद त्याग नगरी अर्को कार्यकारी पदमा उम्मेदवार बन्न पुगेका छन् त्यो पनि राजनीतिक रुपमा ।
कमजोर नियामकको फाइदा उठाउँदै नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्काले नैतिकता, व्यावसायिकतालाई भुलेर खुलेआम राजनीतिक पार्टी एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर बीमा क्षेत्रमा सुशासनलाई चुनौती दिएका छन् ।
सिईओ खड्कोले नेकपा एमालेमा मधेश प्रदेश भूगोलको तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । हिजोदेखि नै सिईओ खड्काले मधेश प्रदेशका एमाले महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेका छन् । आज विहान सिईओ खड्काले आफ्नो फेसबुक एकाउन्ट मार्फत समेत खुलेआम भोट मागेका छन् । नेकपा एमाले पार्टीको चुनाव चिन्ह सहित तयार पारेको पोष्टरमा आफ्नो नाम क. अशोक केसी खड्का उल्लेख गरेका छन् ।

सिईओ खड्काले एमालेको केन्द्रीय सदस्य नभएको भन्दै नियामक र सञ्चार माध्यमहरुलाई झुठो अभिव्यक्ति दिँदै आएका थिए । काठमाडौंमा जारी एमालेको ११ औं महाधिवेशनमा नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्काले केन्द्रीय सदस्यका लागि भोट नै मागेपछि उनी अब नेको इन्स्योरेन्समा सिईओ पदमा फर्केर काम गर्ने नैतिकता गुमाएका छन् ।
नेको इन्स्योरेन्सको सिईओबाट राजीनामा नदिई नेकपा एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा सिईओ खड्का सम्पर्कमा आउन चाहेनन् ।
यसैबीच बीमापोष्टले एमालेमा उम्मेदवार बनेको जिज्ञाशा राख्ने वित्तिकै सिईओ खड्काले आफ्नो फेसबुकमा एक मतको अपेक्षा गर्दछु भन्दै राखेको स्टाटस समेत हटाएका छन् ।













