खानेपानी बीमा बोर्ड गठन गर्न माग

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी बीमा बोर्ड गठनको माग गर्दै खानेपानी मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको समूहले मन्त्रालयका सचिव राम आधार शाह, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ र उपमहानिर्देशक नारायणप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो।
स्थानीयको सहभागितामा सञ्चालित साना शहरी खानेपानी आयोजनामा हस्तक्षेपसँगै सञ्चालन खर्च बढेको र जोखिम व्यवस्थापन नभएकाले संटकउन्मुख भएकाले बीमा जस्ता सुरक्षा योजना लागू गर्न महासंघले माग गरेको छ।
यसमा खानेपानी मन्त्रालयले अभिभावकत्व ग्रहण गर्नु पर्ने महासंघले माग गरेको छ भने समयमै सुरक्षा व्यवस्था नगरेमा भविष्यमा सेवा प्रवाहै गर्न नसक्ने गम्भीर अवस्थामा पुग्न सक्ने चेतावनी पनि दिएको छ।
महासंघले खानेपानी बीमा बोर्ड गठन गरी राज्यले नै प्रिमियम तिर्नु पर्ने, नगर विकास कोषको ऋणमा लाग्ने ब्याजदर घटाउनु पर्ने, ‘जनताको पानी, सरकारको लगानी’ अवधारणा व्यवहारमा उतार्नु पर्ने र सबै खानेपानी संस्थालाई करमुक्त गर्नु पर्ने माग अघि सारेको छ।
साथै खानेपानी सञ्चालनमा प्रयोग हुने विद्युत निःशुल्क गर्नु पर्ने, जोखिम बीमाको व्यवस्था गर्नु पर्ने, आयोजनामा स्रोत सुनिश्चित गरिनु पर्ने, प्रविधिमैत्री आयोजना सञ्चालन गर्नु पर्ने, संविधानमा उल्लिखित स्वच्छ खानेपानी तथा सरसफाइको हक पूर्णरूपमा कार्यान्वयन गर्नु पर्ने माग पनि महासंघले राखेको छ।













