बजारमा हरियाली आएपनि लगानीकर्ता भने निराशः कारोबार खुम्चिदै, कहिले समात्ला लय ?

काठमाडौँ । शेयर बजारले पछिल्ला दुई दिन सामान्य सुधार देखाएको छ । लामो समयदेखि ओरालो लागेको बजारमा सुधारको संकेत देखिएको भए पनि लगानीकर्ताको ठूलो रकम पहिल्यै गुमिसकेकोले उनीहरू अझै निराश छन् ।
बजार हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि स्थिर रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ। निरन्तर घट्दो बजारले उनीहरूलाई सजिलै न त बजारबाट बाहिर निस्कन र न त सक्रिय कारोबारमा फर्कन अवसर दिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका केही पहल भए पनि ती प्रभावकारी हुन सकेका छैनन्। सरकारले स्थिरता र पारदर्शिता ल्याउने दाबी गरे पनि व्यवहारमा बजार अझै अस्थिर छ। केही नयाँ आईपीओ सूचीबद्ध हुँदा सर्किट लाग्दा पनि अधिकांश कम्पनीका मूल्य स्थिर रहँदा लगानीकर्तामा थप दबाब परेको छ।
बजारको उतार–चढावमा राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाका त्रैमासिक नतिजा र खराब कर्जाको अनुपात बढ्नु पनि मुख्य कारण बनेको छ। विश्लेषकहरूले बजार अस्थिरतामा ठूलो लगानीकर्ता समूह र संगठित माफियाको भूमिका रहेको आशंका गरेका छन्।
नीति निर्माण र नियामक तहबाट केही प्रयास भए पनि अपेक्षित सुधार नहुँदा लगानीकर्ताको विश्वास कमजोर भएको छ। सामान्यतया लाभांश सिजनमा सकारात्मक उछाल देखिने भए पनि लगातार गिरावटले लगानीकर्तालाई निराश बनाएको छ। बैंकको ब्याजदर घट्दा पनि उत्साह फर्काउन पर्याप्त भएको छैन।
यद्यपि, अधिकांश नीतिहरू बजारको पक्षमा रहेका कारण, पर्याप्त तरलता र अर्थतन्त्रका सकारात्मक सूचकहरूले गर्दा कतिपय लगानीकर्ताहरूका अनुसार बजारले जुनसुकै समयमा गति लिन सक्ने सम्भावना रहेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अकंले बढेर २६१९.९९ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको ७८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा नै हरियाली आएको छ । आज सर्वाधिक विकास बैंक समूहको १.५६ प्रतिशत र होटल तथा पर्यटन समूहको १.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मगलबार १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने आज स्थिर देखिएको हो ।














