सप्तरीमा कर्मचारी कुटपिट भएको विषयमा बोल्यो राष्ट्र बैंक, ‘उच्छृङ्खल गतिविधि गनेलार्ई कारबाही हुन्छ’

१ पुष २०८२, मंगलवार १६:५९

काठमाडौँ । सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दल्ने र कुटपिट गर्ने घटनापछि नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएको उक्त घटनामा नियामक मौन बसेको भन्दै सामाजिक सञ्जाल र विभिन्न वित्तीय संस्थासँग आबद्ध संघ–संस्थाबाट व्यापक आलोचना भएपछि राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा राष्ट्र बैंकले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूप्रति गम्भीर चासो रहेको उल्लेख गरेको छ । नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासमा सबै स्थानीय तहसम्म बैंकिङ पहुँच विस्तार भएको र यसले सर्वसाधारणलाई निक्षेप, कर्जा, विप्रेषण तथा सामाजिक सुरक्षा भत्ताजस्ता वित्तीय सेवा सहज रूपमा प्राप्त गर्न मद्दत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकका निर्देशनअनुसार कर्जा प्रवाह, प्रवाहित कर्जाको अनुगमन तथा कर्जा असुली बैंक तथा वित्तीय संस्थाको प्रमुख दायित्व भएको स्पष्ट पार्दै राष्ट्र बैंकले कर्जा फिर्ता नहुँदा निक्षेपकर्ताको रकम फिर्तामा समेत समस्या पर्न सक्ने र तरलतामा असर पर्ने बताएको छ । त्यसैले ऋणीले लिएको कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्नेमा राष्ट्र बैंकको जोड छ । तर, प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा समस्या परेमा समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरणका व्यवस्था गरी सहजीकरण गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकिङ कारोबारका क्रममा कुनै गुनासो भएमा सम्बन्धित बैंक तथा राष्ट्र बैंकमै गुनासो सुनुवाइको व्यवस्था रहेकाले कानुनी र संस्थागत माध्यमबाट समस्या समाधान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीविरुद्ध गैरव्यावसायिक र उच्छृङ्खल गतिविधि नियन्त्रण नभए वित्तीय साधन परिचालनमा कठिनाइ हुने र त्यसले वित्तीय सेवा नै प्रभावित हुने चेतावनी राष्ट्र बैंकले दिएको छ ।

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने वा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट पारिएको छ । साथै, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी सुरक्षित वातावरणमा काम गर्न सहयोग गर्न सबै पक्षलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*