सीआईबीको अप्रेशनले खुल्दै वित्तीय अपराधका नयाँ रहस्य, मनी ट्रान्सफरहरु फन्दामा पर्नसक्ने

विदेशस्थित दूतावासहरु पनि सक्रिय
२ पुष २०८२, बुधबार १०:१८

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले केही बैंकर तथा व्यावसायिक समूहमाथि चलाएको अप्रेशनले वित्तीय अपराधका नयाँ-नयाँ पोल खुल्न थालेका छन् ।

सीआईबीको अप्रेशनले नेपालभित्र मात्रै नभई नेपाल बाहिर समेत नेपाली अर्थतन्त्रलाई आघात पुग्नेगरिका वित्तीय अपराध मौलाएको तथ्य फेला पारेको हो । सीआईबी अधिकारीहरुले बीमापोष्टलाई दिएको जानकारी अनुसार नेपालमा मनी ट्रान्सफर खोलेर बसेका अधिकांश व्यवसायी हुण्डीसहितका अवैध कारोबारमा संलग्न रहेका देखिन्छन् ।

उनीहरुको नेटवर्क वैदेशिक रोजगारका उपयुक्त गन्तव्य मुलूकहरुतर्फ अग्रसर भएको सीआईबीका एक अनुसन्धान अधिकृतले बीमापोष्टलाई बताए । सीआईबीको ब्रिफिङपछि हालै मात्र वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मुलूक दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले अवैध वित्तीय कारोबार (हुण्डी) नगर्न तथा त्यस्ता कार्यमा संलग्न नहुन भनी चेतावनी दिएका छन् ।

कोरियास्थित नेपाली राजदूतावासले हुण्डीमार्फत स्वदेशमा रकम पठाउँदा व्यक्तिलाई सामान्य लाभ भए पनि दीर्घकालमा यसले नेपालको अर्थतन्त्र, बैंकिङ प्रणाली र राष्ट्रिय विकासमा गम्भीर असर गर्ने भन्दै कोरियामा रहेका नेपालीलाई वैधानिक रेमिट्यान्स प्रणाली प्रयोग गर्न आग्रह गरेको छ ।
उता, संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावास, अबुधाबीले समेत अवैध रूपमा हुने वित्तीय कारोबार (हुण्डी) नगर्न तथा त्यस्ता कार्यमा संलग्न नहुन चेतावनी दिएको छ ।

राजदूतावासले सूचना जारी गरेर विदेशमा रहँदा अनौपचारिक माध्यमबाट रकम पठाउने, प्राप्त गर्ने वा त्यसमा संलग्न हुने कार्य कानूनविपरीत रहेको जनाएको छ । यस्तो गैरकानूनी गतिविधि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार दण्डनीय हुने स्पष्ट गरिएको छ ।

सूचनामा परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रत्येक महिनामा यस्ता गतिविधिसम्बन्धी सूचना तथा विवरण आदान-प्रदान भइरहेको समेत उल्लेख छ ।

कोरियामा व्यापार व्यवसाय गर्दै आएका नेपालीको सहयोगमा संकलन गरिएको कोरियन वान् चिनियाँ तथा भारतीय व्यापारीसँग साँठगाँठ गरी कारोबार हुने गरेको पाइएको छ । जसमा इपीएसमार्फत कोरिया पुगेका केही कामदारहरु समेत जोडिएका छन् । हुण्डी कारोबारीले आफ्नो बैंक खाता प्रयोग नगरी प्रलोभनमा कामदारहरुको खाता प्रयोग गर्ने गर्छन् ।

कार्यअवधि सकेर नेपाल फर्किएका कामदार, अध्ययन पूरा गरेर नेपाल फर्किएका विद्यार्थी र कोरियाबाट डिपोर्ट भएर नेपाल पठाइएका व्यक्तिको बैंक खाता तथा एटीएम कार्ड हुण्डी कारोबारीले नै चलाउने गरेका पाइएको छ ।

सीआईबीका अनुसार नेपालमा अधिकांश मनी ट्रान्सफर चलाउनेहरुले चलाखी गरेर हुण्डीको कारोबार गरिरहेका छन् । अब मनी ट्रान्सफरहरुमाथि नै सीआईबीले अप्रेशन चलाउने तयारी गरेको छ । सीआईबीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘काठमाडौं उपत्यकामा ह्याण्ड क्यास बोक्नेहरु यसमा संलग्न छन् भने तराई तथा विशेषगरी मधेश प्रदेशमा विद्युतीय ट्रान्फर समेत गर्नेहरु सक्रिय छन् । यो जालो वैदेशिक रोजगारका नयाँ-नयाँ गन्तव्यमा फैलिंदै गएको छ ।’ बेलाबेला काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरहरुमा समातिने गरेको अवैध रकम सबै हुण्डी कै हो ? भन्ने जिज्ञासामा सीआईबीले त्यसको अन्तर्कथा थप रहस्यमयी रहेको र टेलिफोनमा भन्न नमिल्ने जवाफ दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*