भृकुटीमण्डपमा तीन दिन फर्निचर सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शन हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पुस ४, ५ र ६ गते फर्निचर सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शन हुने भएको छ। मिडिया स्पेश प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि को संयुक्त आयोजनामा प्रदर्शन हुन लागेको हो। ‘एघारौं नेपाल वूड इन्टरनेशनल एक्स्पो’ तथा ‘नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो’ प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काठ सम्बन्धी मेशिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू समावेश छन्।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल रहनेछन्। फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरू, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले सहभागिता जनाउने छन्। यो प्रदर्शनी काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नयाँ–नयाँ प्रविधिको जानकारी गराउन विगत १० वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काठ सम्बन्धी मेशिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहनेछ। संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरूमा प्रयोग गराउन यो एउटा पहल पनि हो। प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेशिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ।
प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ र इन्टेरियर डिजाईनर एसोसिएशन नेपाल रहेका छन्। इन्टेरियर डिजाईनर एसोसिएशन नेपालका विज्ञहरूद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाईन, फनिर्चर लगायत विभिन्न शीर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुनेछ। प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने छ।
आयोजकका अनुसार प्रदर्शनीले नेपालको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउनेछ। नेपालमा भइरहेका काठको वस्तु उत्पादन सम्बन्धी कार्यहरूमा पनि सकारात्मक भूमिका निर्वाह गर्नेछ।













