बझाङमा खेल मैदान निर्माणमा भ्रष्टाचार: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

२ पुष २०८२, बुधबार १७:३३

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गाउँपालिका वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा अनियमितता भएको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। उजुरीमा ठेकेदारले तत्कालीन गाउँपालिका अध्यक्षसँग मिलेमतो गरी कमसल सामग्री प्रयोग गरेको, प्राविधिक रूपमा आवश्यक डीपीआर नगरी निर्माण गरिएको तथा काम सम्पन्न नगरी रकम हिनामिना गरिएको उल्लेख थियो।

अनुसन्धानका क्रममा एउटै उपभोक्ता समितिसँग दोहोरो सम्झौता गरिएको, उपभोक्ता समितिको खर्चको सार्वजनिक सुनुवाइ नगरिएको र नगरेको कामलाई भएको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी लिने–दिने कार्य भएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले भट्टसँगै सबइन्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई प्रतिवादी बनाएको छ।

प्रत्येक प्रतिवादीविरुद्ध जनही १४ लाख ६६ हजार ५०३ रुपैयाँ ९२ पैसा बिगो कायम गर्दै आयोगले कैद तथा बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*