यूएई जाने नेपालीसँग जनही १४ हजार घुस लिन खोज्दा म्यानपावरले गरे भीएफएस घेराउ

२ पुष २०८२, बुधबार १८:०७

काठमाडौं । ठमेलस्थित भीएफएस (भिसा फ्यासिलिटेसन सर्भिस)ले यूएईको भिसा लिनका लागि चाहिने प्रहरी प्रतिवेदन पुलिस रिपोर्ट’का लागि प्रतिव्यक्ति झण्डै १४ हजार रुपैयाँ असुल गरेको विषयले हंगामा भएको छ ।

बीमापोष्टलगायत विभिन्न सञ्चारमाध्यममा आधिकारिकता विनै उक्त शुल्क असुल्न खोजिएको विषयको समाचार प्रकाशन भएपछि म्यानपावर व्यवसायीले ठमेलस्थित भीएफएस ग्लोबल नेपालको कार्यालय घेराउ गरेका छन् । भीएफएस पुगेर व्यवसायीहरुले त्यो शुल्कको आधिकारिकता र वैधानिकताबारे प्रश्न उठाएपछि थप हंगामा भएको हो । यससँगै म्यानपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ समेतले आन्तरिक सर्कुलर गर्दै सबै व्यवसायीहरुलाई भीएफएसले प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि मागेको शुल्क नतिर्न नतिराउन आग्रह गरेको विवरण बीमापोष्टलाई प्राप्त भएको छ ।

पुलिस रिपोर्ट प्रमाणीकरणका लागि भीएफएसमार्फत काठमाडौंमा रहेको यूएई दूतावासमा कागजात पेश गर्नुपर्ने व्यवस्थाले वैदेशिक रोजगारका लागि यूएई जाने श्रमिकहरु थप ठगिने जोखिम छ । यूएईको भिसा लिन भीएफएसमा ३ सय ५३ दिराम अर्थात् झण्डै १४ हजार शुल्क बुझाउनु पर्ने भनिएको छ ।

जेनजी आन्दोलनअघि यूएई जान प्रहरी प्रतिवेदन अनिवार्य गरिएको थिएन । जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट कैदीबन्दीहरु भागेकोलगायत खबरले यूएई सशंकित भएको थियो भने उसले नेपालीलाई भिजिट र श्रम भिसा जारी गर्न अस्थायी रूपमा रोक लगाएको थियो । लगत्तै यूएईले प्रहरी प्रतिवेदन अनिवार्य गर्ने नीति लागू गरेपछि पुनः भिसा दिन सुरु भएको हो । परराष्ट्र मन्त्रालयले राहदानी प्रमाणीकरण र त्यससँग जोडिएको शुल्कबारे अध्ययन भइरहेको बताए पनि भीएफएसमार्फत रकम असुली सुरु भएको बताइएको छ ।

यता, प्रहरीले समेत अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र बनाउनका लाग कुनै पनि शुल्क नलाग्ने बताएको छ । एक सूचना सार्वजनिक गर्दै प्रहरीले निःशुल्क आवेदन दिन र निःशुल्क नै चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने जनाएको हो ।

यदि कसैले चारित्रिक प्रणमापत्र प्राप्त गर्न आर्थिक लाभ लिन खोजेमा १०० मा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क राख्नु भनेको छ ।

यूएई जाने नेपालीसँग एजेन्टमार्फत जनही १४ हजार घुस असुल्दै भीएफएस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*