हकप्रदपछि आईपीओको तयारीमा भूगर्भ सिमेन्ट, पुँजी १ अर्ब नाघ्ने लक्ष्य

काठमाडौं । पश्चिम नेपालमा आधारित भूगर्भ सिमेन्ट लिमिटेडले सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वि.सं. २०७४ मा स्थापना भएको यो उद्योगले गुणस्तरीय उत्पादन र निरन्तर आपूर्तिमार्फत क्षेत्रीय निर्माण बजारमा आफ्नो पहिचान विस्तार गर्दै आएको छ । सभा कम्पनीको हालसम्मको प्रगति र आगामी रणनीतिबारे छलफल गर्ने मुख्य मञ्चका रूपमा रहेको थियो ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष नन्दीकेशर पौड्यालले दीर्घकालीन आत्मनिर्भरता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि नयाँ रोटरी प्लान्ट जडान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए । उनका अनुसार प्रतिदिन ८०० देखि १००० मेट्रिक टन क्षमताको उक्त प्लान्टले उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाउनेछ र भविष्यको माग सम्बोधन गर्न सहयोग पुर्याउनेछ ।
सभाले कम्पनीको हालको चुक्तापुँजी ५० करोड ५० लाख रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ । साथै, त्यसपछि सर्वसाधारणका लागि २० प्रतिशत साधारण सेयर निष्कासन गर्ने योजना रहेको र त्यसबाट कुल चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ पुग्ने अध्यक्ष पौड्यालले बताए ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६६ करोड ९८ लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले वृद्धि हो । सोही अवधिमा ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ । निर्धारित समयमै ब्याज तथा अन्य दायित्व भुक्तानी गर्दै उद्योगले वित्तीय अनुशासन कायम राखेको दाबी गरिएको छ ।
हाल उद्योगले ओपीसी र पीपीसी दुवै प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ ।













