ओली, लेखक र बालेनसहित ५ जनाको बयान बाँकी, म्याद थप्न पत्र लेख्दै जाँचबुझ आयोग

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’लगायत ५ जनाको बयान लिन आयोगको म्याद थपका लागि सरकारलाई पत्र लेख्ने तयारी गरेको छ ।
बुधबार आयोगको म्याद थप गर्नेबारे प्रधानमन्त्री सुशीला कार्कीसँग अनौपचारिक छलफल भए पनि लिखित पत्र नै पठाएर आयोगको म्याद थपका लागि आग्रह गरिने आयोगका प्रवक्ता एवं नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्माले बीमापोष्टलाई जानकारी दिए ।
प्रवक्ता शर्माले मिति उल्लेख नगरे पनि छिट्टै म्याद थपको पत्र लेख्ने बताए । उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित अझै ५ जनाको बयान लिन बाँकी छ । उनले अन्यको नाम नलिए पनि तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ तथा आन्दोलनकारीतर्फ सुदन गुरुङसहित केहीको बयान बाँकी रहेको जनाउ दिए ।
आयोगले यसअघि तत्कालीन मुख्यसहिच, गृह सचिव, तत्कालीन प्रहरी प्रमुख, हालका प्रहरी प्रमुखसहित तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी लगायतसँग बयान लिइसकेको छ । मन्त्रिपरिषदको असोज ५ को निर्णय अनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे सत्य तथ्य अनुसन्धानका लागि विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन भएको थियो ।
यो आयोगको वैधानिकताबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको दलले प्रश्न उठाउँदै आएको छ भने त्यस्तो आयोगलाई बयान समेत नदिने अभिव्यक्ति स्वयं ओलीले दिँदै आएका छन् ।













