पशुपति भेन्चरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सर्वसाधारणमा आईपीओ ल्याउने तयारी गरिरहेको पशुपति भेन्चर लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
आज पुस ३ गते बिहान साढे ९ बजे काठमाडौंको धुम्बाराहीमा आयोजित एक समारोहका बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौता पत्रमा पशुपति भेन्चरका तर्फबाट संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले पशुपति भेन्चरको शेयरको सार्वजनिक निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ। पशुपति भेन्चर एक इन्भेष्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दै आइरहेको छ।
यस कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका जलविद्युत कम्पनीहरूले आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्दै आइरहेका छन्।












