कारागार भान्साघर निर्माणमा मिलेमतो, पर्वत कारागार प्रमुख शिला श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मास्थित कारागार कार्यालयमा भएको निर्माण कार्यमा अनियमितता गरेको अभियोगमा कार्यालय प्रमुख शिला श्रेष्ठसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणका क्रममा कुनै स्पष्ट कार्यविधि वा मापदण्ड नअपनाई मनोगत रूपमा लक्षित निर्माण व्यवसायीलाई ठेक्का दिन खोजिएको आयोगको ठहर छ। कम कबोल गर्ने बोलपत्रदातालाई पन्छाउँदै नियोजित ढंगले ठेक्का प्रक्रिया अघि बढाइएको भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
बोलपत्र मूल्यांकन समितिकी अध्यक्ष समेत रहेकी श्रेष्ठसँगै समितिका सदस्य सघन शहरी तथा भवन निर्माण आयोजना, बागलुङका इन्जिनियर विकास अधिकारी, कारागार कार्यालयका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्वतका सह-लेखापाल सुभास घर्तीलाई पनि प्रतिवादी बनाइएको छ।
यस्तै, निर्माण व्यवसायीको तर्फबाट संलग्न रहेको भन्दै मोदीकाली कन्स्ट्रक्सनका प्रोप्राइटर प्रदीप तिमिल्सिनालाई समेत मुद्दामा प्रतिवादी कायम गरिएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार सबै प्रतिवादीविरुद्ध जनही २१ लाख ५५ हजार ७३५ रुपैयाँका दरले बिगो मागदाबी गरिएको छ।













