लाभांश घोषणा गर्दै बुटवल पावरले बोलायो साधारणसभा

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश घोषणा गर्दै तेत्तीसौं वार्षिक साधारणभा बोलाएको छ।
बैठकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको निर्णय गरेको हो। साथै बैठकले लाभांश पारित गर्नका लागि पुस २८ गते सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो २ बजे साधारणसभा बोलाएको छ।
साधारणसभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी सञ्चालक समितिमा रिक्त हुने चार सञ्चालकहरूको पदपूर्तिका लागि निर्वाचन गर्ने र गत आवमा विभिन्न संस्था र व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग बापतको ९ लाख ८७ हजार २०० रुपैयाँ अनुमोदन गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १४ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।













