टाटाको शोरुममा विद्यार्थीको कला प्रदर्शनी, ‘विद्युतीय सवारी धारणा र भविष्यप्रतिको झलक’

४ पुष २०८२, शुक्रबार १८:३१

काठमाडौँ । टियागो ईभी कार्टनिभल अन्तर–स्कुल चित्रकला प्रतियोगिताअन्तर्गत तयार गरिएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी थापाथलीस्थित सिप्रदी ट्रेडिङको सोरुममा राखिएको छ । सिप्रदियन सहायता संस्था र बूढानीलकण्ठ स्कुलको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरूले तयार पारेका चित्रहरू शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म प्रदर्शनीमा राखिएको हो ।

यस प्रदर्शनीमा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीले बनाएका चित्रकला समावेश गरिएको थियो । वातावरणमैत्री सवारी साधन र सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा कला र नवप्रवर्तनप्रतिको रुचि थप बढाएको आयोजकको भनाइ छ ।

प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम भएका थिए भने कक्षा ९ देखि १२ सम्मको समूहमा बूढानीलकण्ठ स्कुलकी समय्या थापा प्रथम हुन सफल भएकी थिइन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेशन–५ प्रदान गरिएको थियो।

कक्षा ५ देखि ८ को समूहमा काठमाडौँ युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बूढानीलकण्ठ स्कुलका दक्ष चौधरी चौथो र त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थानमा रहेका छन्। त्यसैगरी कक्षा ९ देखि १२ को समूहमा बूढानीलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय भएका छन्।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो भने दोस्रो चरणमा पुस २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी र पुरस्कार वितरण गरिएको हो। प्रदर्शनीमा विद्यार्थीहरूको सिर्जनात्मकता, विद्युतीय सवारी साधनप्रतिको धारणा र भविष्यप्रतिको कल्पनालाई चित्रमार्फत प्रस्तुत गरिएको थियो।

प्रदर्शनी अवलोकनका क्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसहित कम्पनीका कर्मचारी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै वातावरणमैत्री प्रविधिप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*