नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्रलाल कर्णलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्राधिकरणमा रिक्त रहेको महानिर्देशक पदको कामकाज सम्हाल्ने गरी कर्णलाई निमित्त महानिर्देशक नियुक्त गरिएको हो।
भ्रष्टाचारसम्बन्धी आरोपका कारण तत्कालीन महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी गत १७ मंसिरदेखि निलम्बनमा परेपछि प्राधिकरणको प्रमुख पद खाली रहेको थियो। अधिकारीको चार वर्षे कार्यकाल आगामी १७ माघमा सकिँदै थियो । कार्यकाल समाप्त हुनुभन्दा करिब दुई महिना अघि नै उनी निलम्बनमा परेपछि प्राधिकरण नेतृत्वविहीन बनेको थियो।
सोही अवस्थामा प्राधिकरणकै १२ औँ तहका वरिष्ठ उपमहानिर्देशक कर्णलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ। नियुक्तिसँगै उनले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
हाल प्राधिकरणमा पाँच जना उपमहानिर्देशक कार्यरत छन्। तीमध्ये निवर्तमान महानिर्देशक अधिकारीसँगै दुई जना वरिष्ठ उपमहानिर्देशकविरुद्ध पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ उपमहानिर्देशक प्रतापबाबु तिवारी र हंशराज पान्डेविरुद्ध मुद्दा दायर गरेपछि उनीहरू पनि निलम्बनमा रहेका छन्।













