नेको इन्स्योरेन्सका सिईओ खड्कालाई तत्कालै राजिनामा गर्न अध्यक्ष निरौलाको चेतावनी

४ पुष २०८२, शुक्रबार १८:३२

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्कालाई कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाले राजिनामा दिन दबाब दिएका छन् । नैतिकतालाई भुलेर नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पुगेका सिईओ खड्काको सम्बन्धमा नियामक नेपाल बीमा प्राधिकरणले समेत चासो राखेपछि अध्यक्ष निरौलाले आफूलाई अप्ठेरो परेको भन्दै सिईओ खड्कालाई राजिनामा दिन भनेका हुन् ।

यद्यपि सिईओ खड्काले भने आफूले राजिनामा नदिने बरु मुद्दा लडेरै भएपनि पदमा बसिरहने जवाफ फर्काएको बिषयले अहिले बीमा क्षेत्रमा व्यापक चर्चा परिचर्चा भइरहेको छ । सुरुमा प्राधिकरणको पत्र आउने वित्तिकै अध्यक्ष निरौलालाई टेलिफोन गरेर आफूले राजिनामा दिन लागेकोले छानविन समिति गठन गर्नु नपर्ने भन्दै आश्वस्त पारेका थिए । तर, बीचमा उनले एकाएक कुरा फेरेर राजिनामा नगर्ने बरु मुद्दा लडेरै भएपनि पदमा बसिरहने भन्ने सन्देश अध्यक्ष निरौलालाई दिएपछि नेको इन्स्योरेन्स कम्पनीमा सञ्चालक समिति र व्यवस्थापन बीच तिक्तता बढेको छ ।

सार्वजनिक कम्पनीको सिईओ पदमा बहाल रहेकै बखत एमाले महाधिवेसन ११ औं महाधिवेशनमा भाग लिई केन्द्रीय सदस्यमा उम्मेदवार समेत बनेर भोट मागेको बिषयमा नियामक बीमा प्राधिकरणले पनि तीन दिने स्पष्टिकरण सोधिसकेको छ । छानविन समिति नै गठन गरेर प्राप्त प्रतिवेदन सहित जवाफ दिनुपर्ने भएपछि अध्यक्ष निरौला यतिबेला अप्ठेरोमा परेका छन् । नेपाल सरकारका दुई बैंक राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकको समेत लगानी भएको नेको इन्स्योरेन्सभित्रका काम कारवाही र खर्चका सम्बन्धमा अख्तियार समेत आकर्षित हुनसक्ने अवस्था छ ।

सोही कारण अध्यक्ष निरौला सिईओ खड्कासँग आक्रोसित हुन पुगेको बताइन्छ । उनले तत्कालै राजिनामा दिएर मार्गप्रशस्त नगरे कडा नियामकको फन्दा पर्न सक्ने सन्देश घुमाउरो माध्यमबाट सिईओ खड्कालाई दिइसकेका छन् । तर, पनि खड्का भने आफू बीरेन्द्र महतोको प्रीय व्यक्ति भएको भन्दै राजिनामा दिन आनाकानी गर्दै आएका छन् ।

अध्यक्ष निरौलाले सिईओ खड्कामाथि छानविन गर्नु भन्ने बीमा प्राधिकरणको लिखित निर्देशन समेत कारवाही प्रक्रिया अघि बढाएका छैनन् । स्रोतका अनुसार सिईओ खड्काले राजिनामा दिन्छु भनेर मौखिक रुपमा भनेको र लिखित रुपमा दिन बाँकी रहेकोले छानविन नगरिएको बुझिएको छ । सिइओ खड्काले आइतबारसम्ममा राजिनामा नदिएमा अब अध्यक्ष निरौला आफै पनि अप्ठेरोमा पनुपर्ने अवस्था छ ।

प्राधिकरणले छानविन गर्नु भनेर निर्देशन दिएको अवस्थामा राजिनामा आउछ भनेर छानविन नगरेकोमा अब के जवाफ दिने भनेर अन्योलमा पर्न गएका छन् । सिईओ खड्काको राजिनामा नआएको अवस्थामा अध्यक्ष निरौला राजिनामा दिनुपर्ने अवस्था आउनसक्ने चर्चा बीमा क्षेत्रमा व्यापक चलिरहेको छ । अध्यक्ष निरौला आफू चाही नेपाली कांग्रेसका नेता पनि हुन् । उनले शिल्पा स्टक ब्रोकर कम्पनी कमलपोखरीमा बसेर दिनैभरि शेयर कारोवार गरिरहेका हुन्छन् । उनीमाथी छानविन सुरु भएमा थप समस्या पर्ने त्रासले पनि अध्यक्ष तनावमा छन् ।

जेनजीको सरकारअघि नेकपा एमालेको सरकारको अवधिमा कम्पनीमा देखिएको कैफियतमा सरकारको संरक्षणमा ढाकछोप गर्दै प्राधिकरणलाई नै चलाउदै आईरहेका नेको इन्स्योरेन्स कम्पनीका सिईओ अहिले एमालेको बोलावाला चल्न छोडेपछि अप्ठेरो अवस्थाको सामना गरिरहेका छन् ।

नेको इन्स्योरेन्स कम्पनीमा सञ्चालक समितिको बैठक राखेर प्राधिकरणको पत्रबारे छलफल भए नभएको बुझ्न खोज्दा एक सञ्चालकले तीन दिन पहिले नै प्राधिकरणको पत्र आएको तर आज शुक्रबार साँझसम्म बोर्डको बैठक बस्न नसकेको बताएका छन् । बोर्ड बैठकमा सिईओ अशोक खड्काको राजिनामाले अल्झिएको एक सञ्चालकले बीमापोष्टलाई जानकारी दिएका छन् ।

उता, अध्यक्ष निरौलासँग यस सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । बीमा प्राधिकरण स्रोतले नेको इन्स्योरेन्सले प्राधिकरणको पत्रको कुनै रेस्पोन्स नगरेको जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*