‘सरकार जनअपेक्षामा असफल’ भन्दै जेनजी मिराज ढुङ्गाना समूह सडकमा उत्रिने

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले सोमबारदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनमा उत्रिने निर्णय सार्वजनिक गरेको हो ।
समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको पहिलो कार्यक्रमका रूपमा सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आम नागरिकलाई आह्वान गरे । उनका अनुसार यो आन्दोलन कुनै दल विशेषविरुद्ध नभई वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्ने उद्देश्यले सुरु गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनप्रति राज्य र राजनीतिक नेतृत्वबाट विश्वासघात भएको आरोप लगाए । उनले वर्तमान सरकार जनअपेक्षा अनुसार अघि बढ्न नसकेको दाबी गर्दै अब सर्वपक्षीय सरकार नै आवश्यक रहेको बताए । साथै सुशीला कार्की नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको र व्यवहारतः असफल भइसकेको उनको भनाइ थियो ।













