जुनसुकै हालतमा चुनाव गराउन प्रधानमन्त्रीलाई रविको चेतावनी

७ पुष २०८२, सोमबार १०:३०

काठमाडौं । कारागारबाट फर्किए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने फागुन २१ का लागि घोषित चुनाव गराउन सरकारमाथि दबाब बढाउन सक्रिय भएका छन् ।

पार्टी सभापतिको जिम्मेवारीमा फर्किएकै दिन आइतबार लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जुनसुकै हालतमा पनि चुनावबाट पछि नहट्न आग्रह गरे । उनले प्रतिनिधि सभा पुर्नस्थापित गर्ने कित्तामा उभिएका कांग्रेस एमालेको कुरा सुन्नतिर लागेर चुनाव भाँडिए राम्रो नहुने चेतावनी समेत दिएको भेटवार्तामा सहभागी रास्वपाका नेताले बीमापोष्टलाई बताए । उनका अनुसार पार्टी सभापति लामिछानेले कांग्रेस र एमाले चुनाव हार्ने डरले अनेक बखेडा झिकिरहेकाले उनीहरुको कुरा नसुन्न र चुुनावको तयारीमा लाग्न प्रधानमन्त्री कार्कीलाई सुझाव दिए ।

कुनै समय माओवादीले चुनाव बहिस्कार गर्दा त फरक नपरेको उदाहरण दिँदै लामिछानेले कांग्रेस र एमालेलाई पेलेरै चुनाव गराउन आग्रह गरे । चुनाव नभएको खण्डमा आफुहरुले कसैलाई पनि नछोड्ने चेतावनी दिएको समेत भेटमा सहभागी ती नेताले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमाले भने जेनजी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधि सभा व्यूँत्याउन भन्दै हस्ताक्षर संकलनदेखि अदालतमा रिट हाल्ने सम्मको गतिविधिमा लागेका छन् । एमालेले हालै आफ्नो ११ औं महाधिवेशन सकेर पार्टी संगठन र विभागहरु पुर्नगठनमा लागेको छ भने नेपाली कांग्रेसले यहि पुस अन्ति साता महाधिवेशन गर्ने भनिरहेको छ । कांग्रेसको १५ औं महाधिवेशनको मिति पुर २६ देखि २८ सम्मलाई तोकिएको छ । १९-२० दिन मात्रै बाँकी रहँदा कांग्रेसभित्र क्रियाशील सदस्यताकै लफडा टुंगिएको छैन ।

तर, रास्वपा सभापति लामिछानेले भने यी कुनै पनि बहानामा फागुनमा तोकिएको चुनाव रोकिन नहुने अडान लिएका छन् । चुनाव गराउन भन्दै गठित सुशीला कार्की नेतृत्वको सरकार कुनै पनि बहानामा पछि हट्न नहुने भन्दै लामिछानेले चुनाव नगर्ने परिस्थिति मात्रै निर्माण भए राम्रो नहुने चेतावनी दिएका छन् । त्यसपछिको मुलुकको अवस्था अर्कै स्थितिमा पुग्ने अभिव्यक्ति प्रधानमन्त्रीकै अगाडि उनले दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*