माइतिघरमा सयौंको संख्यामा सुरक्षाकर्मी, छैनन् प्रदर्शनकारी

काठमाडौँ । जेन–जी समूहले आज माइतिघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरे पनि प्रशासनबाट अनुमति नपाउँदा आन्दोलन अन्योलमा परेको छ। मिराज ढङ्गानाको टोलीले आज बिहान ११ बजे माइतिघर केन्द्रित प्रदर्शन गर्ने जानकारी गराएको थियो। तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि आन्दोलनको प्रभाव परेको छैन ।
आन्दोलनको सम्भावनालाई मध्यनजर गर्दै माइतिघर क्षेत्रमा भने सुरक्षा व्यवस्था कडा बनाइएको छ। माइतिघर मण्डलासहित आसपासका क्षेत्रहरूमा सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का सुरक्षाकर्मी परिचालन गरिएको छ। राजधानीका मुख्य–मुख्य चोक, सडक र संवेदनशील स्थानहरूमा पनि सुरक्षाकर्मी बाक्लो रूपमा खटिएका छन्।

तर, सुरक्षा व्यवस्था कडा बनाइए पनि माइतिघर क्षेत्रमा अहिलेसम्म आन्दोलनकारीको उपस्थिति भने देखिएको छैन। सडक, चोक र खुला स्थानहरू सुरक्षाकर्मीको नियन्त्रणमा छन् भने सर्वसाधारणको आवतजावत भने सामान्य रहेको छ।
प्रहरीले प्रशासनको अनुमति बिना कुनै पनि समूहले आन्दोलन गर्न खोजेमा तत्काल नियन्त्रणमा लिने चेतावनी दिएको छ। अनुमति नभएको प्रदर्शनले सार्वजनिक शान्ति सुरक्षा खल्बल्याउने भन्दै प्रहरीले कडा निगरानी बढाएको जनाएको छ।
यसअघि भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको थियो। सो घटनाबाट सुरक्षाकर्मी त्रसित बनेका छन्। त्यसै कारण यस पटक कुनै पनि अप्रिय घटना वा दुर्घटना हुन नदिन सुरक्षाको व्यवस्था अत्यन्त कडा बनाइएको सुरक्षाकर्मीहरूले बताएका छन्।













