शेयर बजार अनिश्चितः घाटामा परेका लगानीकर्ताहरू अन्यौलमा, मार्केटको राताम्य कहिलेसम्म ?

७ पुष २०८२, सोमबार १५:०४

काठमाडौँ । शेयर बजारमा लगातार गिरावटको प्रभाव जारी छ । गत बिहीबारदेखि ओरालो लागेको बजारले आज पनि सोही प्रवृत्ति कायम राखेको छ, जसले लगानीकर्तामा निराशा थपेको छ । बजार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । घट्दो बजारले नाफा कमाउने अपेक्षामा रहेका लगानीकर्तालाई दबाबमा पारेको छ भने नयाँ लगानी गर्न चाहनेहरू ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् ।

विशेषगरी दीपेन्द्र अग्रवालसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्यमा आज तीव्र गिरावट आएको छ । अग्रवालमाथि शेयर मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार गरेको र मूल्य प्रभावित कसुरमा कारबाही प्रक्रिया अघि बढेसँगै ती कम्पनीहरूमा लगानीकर्ताको विश्वास कमजोर भएको छ। यसको प्रत्यक्ष असर शेयर मूल्यमा देखिएको छ ।

नेप्से सूचक हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि सीमित रहँदै उतार–चढाव गरिरहेको छ । स्पष्ट दिशा लिन नसकेको बजारले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको छ। निरन्तर घट्दै जाने र कहिले स्थिरजस्तो देखिने बजारले लगानीकर्तालाई सहज रूपमा बजारबाट बाहिर निस्कन वा नयाँ उत्साहका साथ कारोबारमा फर्किन प्रेरित गर्न सकेको छैन। यही कारण कारोबार रकम पनि अपेक्षाकृत कम देखिएको छ।

अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका लागि विभिन्न पहलहरू गरिएको बताइए पनि ती प्रयासहरू व्यवहारमा प्रभावकारी देखिएका छैनन्। सरकारले बजारमा स्थिरता र पारदर्शिता ल्याउने दाबी गरे पनि वास्तविक कारोबारमा अस्थिरता कायमै छ। विश्लेषकहरूले राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाहरूका त्रैमासिक वित्तीय विवरण, साथै खराब कर्जाको बढ्दो अनुपातलाई बजार अस्थिरताको मुख्य कारणका रूपमा लिएका छन्।

केही विश्लेषकहरूले बजारमा ठूला लगानीकर्ता समूह र संगठित चलखेलको सम्भावनालाई पनि अस्थिरताको एक कारणका रूपमा हेरिरहेका छन्। नियामक निकाय र नीति निर्माण तहबाट समय–समयमा सुधारका प्रयास घोषणा भए पनि अपेक्षित परिणाम नआउँदा लगानीकर्ताको विश्वास झन् खस्किएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दो क्रममा भए तापनि यसले शेयर बजारमा नयाँ उत्साह सिर्जना गर्न पर्याप्त भूमिका खेल्न सकेको छैन । लगानीकर्ताहरू अझै स्पष्ट नीति, प्रभावकारी नियमन र स्थिर राजनीतिक वातावरणको पर्खाइमा छन् । जबसम्म बजारले स्पष्ट दिशा र विश्वासको आधार तयार गर्दैन, हालको निराशाजनक अवस्था सहजै सुधार हुने संकेत देखिँदैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८८ अकंले घटेर २५८१.२१ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.३७ प्रतिशत, फाइनान्स समूहको ०.१५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*