निर्यातमा ५८ प्रतिशतको उछाल, आयात बढ्दा पाँच महिनामै नेपालको व्यापार घाटा ६ खर्ब नाघ्यो

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो निर्यात अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको थियो।
यस अवधिमा नेपालले कुल ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। पाँच महिनामा मुलुकले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा वैदेशिक व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा पछिल्लो पाँच महिनामा आयात १५.८३ प्रतिशतले बढेको विभागले जनाएको छ।
पाँच महिनामा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ। यस अवधिमा १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। जसमा ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोल, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ८ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको हवाई इन्धन तथा ४ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम बिटुमिन आयात गरिएको छ। पेट्रोलियम पदार्थपछि ३९ अर्ब रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको छ।
निर्याततर्फ भने सोयाविन तेल सबैभन्दा अगाडि देखिएको छ। पाँच महिनाको अवधिमा नेपालबाट ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ। त्यसपछि १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सिंथेटिक कपडा र १ अर्ब ३२ करोड रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको भन्सार विभागले जनाएको छ।













