उपत्यकाका ४६ होटेल–रेष्टुरेन्टमा विभागको छापा, ७ वटालाई तिरायो जरिवाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यका केन्द्रित ४६ वटा होटेल तथा रेष्टुरेन्टमा अनुगमन गरी नियम उल्लंघन गर्ने ७ स्थानमा कुल १ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागको टोलीले शुक्रबार, आइतबार र सोमबार गरी तीन दिनमा अनुगमन सम्पन्न गरेको थियो।
अनुगमनअन्तर्गत कोटेश्वर, टोखा, महाराजगञ्ज, गोंगबु र अन्य स्थानका होटेल तथा रेष्टुरेन्टमा उपभोक्ता संरक्षण ऐन २०७५ विपरित कार्य भएको फेला परेपछि जरिवाना गरियो। कोटेश्वरको ब्लिसफूल प्राइभेट लिमिटेडलाई ५० हजार, गोल्मादेवी भोजनालय र चण्डेश्वरी खाजा घरलाई ५–५ हजार रुपैयाँ जरिवाना लगाइएको छ। महाराजगञ्जको प्रिया स्वीट एण्ड चाट हाउसलाई ५० हजार र टोखा ११ स्थित आई क्याफे रेष्टुरेन्टलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी, गोंगबुस्थित फ्रेस टप क्वालिटी मम एण्ड फास्ट फूड सेन्टर ५ हजार र मड्का बिर्यानी प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। विभागले अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको हित सुनिश्चित गर्न प्रतिबद्धता जनाएको छ।













