गोरखामा बूढीगण्डकी ‘क’ र ‘ख’ बन्ने, ८८ अर्ब ३१ करोड लगानीमा ३२९ मेगावाट विद्युत् उत्पादन

काठमाडौँ । गोरखामा बूढीगण्डकी ‘क’ र ‘ख’ दुई जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ। १०३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्ने भएको हो।
कम्पनीले बूढीगण्डकी ‘क’ आयोजना ३१ अर्ब ३२ करोड रुपैयाँ र बूढीगण्डकी ‘ख’ आयोजना ५६ अर्ब ९९ करोड रुपैयाँको लागतमा निर्माण गर्ने योजना बनाएको छ। बूढीगण्डकी ‘क’ अन्तर्गत धार्चे गाउँपालिका–३ को लुस्याङमा बाँध बाँधेर करिब चार किलोमिटर सुरुङमार्फत पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गरिनेछ। यो आयोजना रन अफ द रिभर प्रविधिमा आधारित हुने र १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने छ। माछाखोलामा उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर लामो प्रसारण लाइनमार्फत बूढीगण्डकी ‘ख’ आयोजनामा जोडिनेछ।
२२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ आयोजनाको बाँध धार्चे गाउँपालिका–७ को खानीबेंसीमा निर्माण गरिनेछ। त्यहाँबाट ९ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत पानी सोतीस्थित विद्युत् गृहमा पुर्याई उत्पादन गरिने योजना छ। यो आयोजना पनि रन अफ द रिभर प्रविधिमा आधारित हुने र १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने जानकारी दिइएको छ।
दुवै आयोजनाको वातावरणीय प्रभाव अध्ययन (ईआई) र विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको इञ्जिनियर मगरले बताए। उनका अनुसार भूकम्पअघि गरिएको सर्वेक्षणपछि भूकम्पको प्रभावले आएको परिवर्तनको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ र आउँदो सुक्खायामबाट निर्माण कार्य सुरु गर्ने तयारी छ।
यी दुवै आयोजनाबाट तथा बूढीगण्डकी ‘क’ बाट प्राप्तसमेत गरी कुल ३२९ दशमलव ४ मेगावाट विद्युत् १८ दशमलव ५ किलोमिटर दूरीमा रहेको धादिङको लापा स्थित सवस्टेशनमा जोडिनेछ।













