१६ अर्बको गाडी बिक्री गर्ने बिवाईडीको व्यापार साढे ११ अर्बमा सीमित, साँढे चार अर्ब ऋण कसरी तिर्ला ?

८ पुष २०८२, मंगलवार १३:०९

काठमाडौँ । नेपालमा बिवाईडीका गाडीको आधिकारिक वितरक साइमेक्स इंकको व्यापारमा धक्का लागेको छ । वर्षदिनको अवधिमा बिवाईडीको बिक्री साढे रुपैयाँको व्यापार घटेर १६ अर्बबाट साढे ११ अर्बमा सीमित हुन पुगेको छ । उच्च दरले व्यापार घटेपछि साइमेक्स इन्कले बैंकबाट लिएको ऋण कसरी तिर्छ भनेर प्रश्न चिन्ह उठेको छ ।

सन् २०२४ मा १६ अर्ब ४० करोड २० लाख रुपैयाँको व्यापार गरेको बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्सले सन् २०२५ मा ३० प्रतिशतले घटेर ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँमा सीमित भएको हो । पछिल्लो समय साइमेक्सले बिक्री गर्दै आइरहेका सवारी साधनको बिक्री घट्दो क्रममा छ । गाडीहरुमा देखि रहेको विभिन्न प्राविधिक त्रृटिले गर्दा उपभोक्ताहरु बिवाईडी ब्रान्ड किन्नहरुको संख्या निरन्तर घट्दो रहेको व्यापारमा आएको गिरावटबाट पुष्टि हुन आएको छ ।

उच्च दरमा व्यापार घटेपछि साइमेक्स इन्कको रेटिङ गर्ने कम्पनीले इक्रा रेटिङ ए४ बाट ए३ मा झारेको छ । यसको अर्थ अब कम्पनीमाथि थप ऋण जारी गर्दा जोखिम बढी छ भन्ने हुन्छ । यसअघि तीन अर्ब रुपैयाँ ऋण लिन रेटिङ गराएको कम्पनीले अब ऋणको सीमा एक अर्ब ४५ करोड रुपैयाँ थपेर चार अर्ब ४५ करोड पुर्याएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा बिवाईडीका केही मोडेलहरू गुणस्तरका कारण फिर्ता भइरहेका छन् । त्यसको समाचारले पनि ब्रान्डको प्रतिमामा नकारात्मक प्रभाव पारेको छ । नेपाली बजारमा बिवाईडी सवारी साधनसँग सम्बन्धित प्राविधिक दुर्घटना र समस्या बढ्दै जाँदा उपभोक्तामा गाडीको विश्वसनीयताप्रति शंका बढ्दो छ ।

कम्पनीका अधिकांश ब्रान्ड पछिल्लो समय बिक्री हुनै सकस हुने अवस्थामा आइपुगेको छ । सस्तो भनेर बिक्री गरिएको एटिटिओ १ गाडीको पाट्र्स सामान्य हातको औलाले थिच्दा समेतभित्र पस्ने देखिन थालेपछि ग्राहकहरु अत्तालिन थालेका छन् ।

सन् २०२५ मा एट्टो–३ र डल्फिन मोडेलले मात्र कम्पनीको कुल आम्दानीको करिब ९० प्रतिशत योगदान गरेका छन् । अन्य सवारीहरु भने बिक्रीमा मै संकट आइपरेको हो । यसअवधिमा सर्वाधिक बिक्री भएको एट्टो ३ मा समेत बिवाईडीले गम्भीर लापरबाही गर्दै आइरहेको छ । एट्टो–३ कम्पनीले २०१७ साल देखि सञ्चालन सुरु गरे तापनि सन् २०२३ मा मोटर क्षमता घटाएर बजारमा बिक्री गरेको थियो । क्षमता घटाउँदा कर छलीको अभियोगमा सेटिङमा छानविन नगरी अलपत्र अवस्थामा राखिएको छ ।

सन् २०२५ को एट्टो–२ तथा एट्टो–१ का कम मूल्यका सवारी सार्वजनिक गरेपनि उपभोक्ताहरु भने सवारी खरिद गर्ने छोडेको अवस्था छ । कम्पनीले ग्राहकलाई लोभ्याएर गाडीको बिक्री बढाउनका लागि मूल्यमा भारी छुट, विभिन्न सुविधासहितको एक्सचेञ्ज मेला पटक–पटक आयोजना गर्दै आइरहेको छ । तर, उक्त रणनीतिले समेत साइमेक्स असफल हुँदै गएको देखिएको हो ।

बिवाईडीको बिक्री घट्ने कारण उक्त कम्पनीका सञ्चालकदेखि कर्मचारीहरुको रुट व्यवहार, बोल्ने शैली समेत जिम्मेवार देखिन्छन् ।

साइमेक्स इंकको शेयरधनीहरू यमुना श्रेष्ठ (५०.५ प्रतिशत) र उनका दाजु अनिल श्रेष्ठ (४९.५ प्रतिशत) हुन् । यमुना र अनिल श्रेष्ठ व्यक्तिगत काममा बढी व्यस्त हुने भएकोले पनि कम्पनीको साख गिर्ने अवस्थामा पुगेको देखिन आएको छ ।

उता, साईमेक्स इन्कको व्यापारमा उच्च गिरावट आएसँगै बैंकबाट लिएको ऋण कसरी तिर्छन भन्ने प्रश्न चिन्ह खडा हुन आएको छ । क्रेडिट रेटिङ गराउँदा छ अर्ब रुपैयाँ ऋण लिने भनेर गराएकोले उनीहरुले लिएको ऋण अब कसरी तिर्छन भन्ने चासोको बिषय बनेको छ ।

बिवाईडी गाडी बिक्री गर्ने साईमेक्स इन्कको व्यापार उच्च दरमा गिरावट आएपछि बिवाईडीको आधिकारिक बिक्रेता एजेन्ट नै खोसिने हो कि भन्ने अवस्था सिर्जना भएको छ ।

बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कका वित्त विभाग प्रमुख मेमान धौगोडाले आफ्नो कम्पनीको बिक्री घट्नुमा सस्तो गाडी बिक्री मुख्य कारण रहेको खुलाए । उनले भने, ‘मार्केट घटेर सेल्स थोरै मात्रै घटेको हो । सस्तो गाडीहरु बिक्री गर्दा व्यापार घटेको हो अन्यथा होइन ।’ साथै बैंकबाट लिएको ऋण कसरी तिर्नुहुन्छ भन्ने जिज्ञाशामा उनले भने, ‘हामीले बैंकबाट लिएको ऋण नियमित रुपमा तिरिरहेका छौं ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*