नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक, पाँच महिनामा १ खर्बभन्दा बढी थप

काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म देशको कुल सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको थियो । यस आधारमा, पाँच महिनामा करिब १ खर्ब १४ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋण थपिएको देखिन्छ । कार्यालयले जनाएको छ कि मंसिर मसान्तसम्म सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.६६ प्रतिशत पुगेको छ ।
विवरण अनुसार, कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण १३ खर्ब १ अर्ब ६३ करोड १० लाख रुपैयाँ अर्थात् कुल जिडिपि को २१.३१ प्रतिशत रहेको छ । त्यस्तै, वैदेशिक ऋण १४ खर्ब ८६ अर्ब ९० करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन जिडिपिको २४.३५ प्रतिशत बराबर हो ।
सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ नयाँ सार्वजनिक ऋण सङ्कलन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । समीक्षा अवधिसम्म यस लक्ष्यको करिब २९.४० प्रतिशत मात्र परिचालन भएको देखिन्छ । यसमध्ये आन्तरिक ऋणको हिस्सेदारी ४०.७९ प्रतिशत र बाह्य ऋणको हिस्सेदारी ११.७५ प्रतिशत रहेको छ ।













