एक सातादेखि बीमा प्राधिकरणका कर्मचारी आन्दोलित, कालोपट्टी बाँधेर ‘पेन डाउन’

८ पुष २०८२, मंगलवार १४:२५

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएको एक साताभन्दा बढी भइसकेको छ ।

प्राधिकरणका कर्मचारीहरु दैनिक एक घण्टा पेन डाउन गरी कालो पट्टी बाँधेर काम गर्दै आइरहेको एक साता बितिसक्दा पनि माग सुनुवाईको विषयमा भने कुनै ठोस निर्णय नआईसकेको बताँउछन् ।

प्राधिकरणका शाम्भराज लामिछानेको नेत्तृवमा पाँच सदस्यीय कमिटि पनि बनेको छ।

उक्त कमिटिसँग प्राधिकरणका युनियनको टोलीले वार्ताका लागि एक चरणको छलफल गरिसकेको छ भने अर्थ मन्त्रालयबाट प्रतिनिधिको रूपमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा र कार्यकारी निर्देशक सुशीलदेव सुवेदीसँग दुई चरणको वार्ता गरिसकेको छ।

प्राधिरणमा अर्थ मन्त्रालयको तर्फबाट जिम्मेवारी सम्हालिरहेका जनक राज शर्माले पनि अर्थ मन्त्रालयमा निरन्तर कर्मचारीको मागलाई लिएर छलफल भइरहेको प्रतिकृया दिइरहेको बताएका छन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाई नभएको भन्दै पुस १ गते मंगलबारदेखि हड्ताल शुरु गरेको थियो ।

एक सातादेखि दैनिक काममा प्रभावित नपार्ने हेतुले कर्मचारीहरूले कालोपट्टी बाँधेर बिहान एक घण्टा काम गर्ने बताएका छन्। बीमा प्राधिकरणको नियमित कामकारवाहीलाई प्रभाव नपार्ने हेतुले नै विरोध जनाइरहेको कर्मचारीहरू बताउँछन् ।

प्राधिकरणका कर्मचारी संघ र युनियनले बारम्बार लिखित तथा मौखिक रूपमा मागहरू गरेपनि सम्बोधन नगरेको भन्दै एक साता अघि नै कर्मचारीहरूले ध्यानाकर्षण समेत गराएका थिए । पटक–पटक वेवास्तामा परेको भन्दै एक सातादेखि प्राधिकरणका कर्मचारीहरूले कालो पट्टी बाँधेर काम गर्न शुरु गरेका हुन् ।

गत साता युनियनका अध्यक्ष पोखरेल र कर्मचारी संघका अध्यक्ष दीपक ज्ञवालीले प्राधिकरणका अध्यक्षलाई पत्र लेख्दै आन्दोलन शुरु गरिएको औपचारिक जानकारी गराएका थिए । कर्मचारीहरूले आफना माग पूरा नभए सम्मका लागि कालोपट्टी बाँधेर एक घण्टादेखि काम रोक्दै आइरहेका छन् तर पनि हालसम्म यस विषयमा कुनै प्रतिक्रिया भने आइरहेको छैन ।

आफनो माग माग पूरा नभए कार्यालय परिसरमै कालो ब्यानर टाँस्ने र हालसम्मको उपलब्धिको समीक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गरिने कर्मचारी युनियन संघको योजना रहेको छ ।

कर्मचारीहरूले यसअघि मंसिर १ गते माग सहित अध्यक्षलाई पत्र बुझाउँदै २१ दिनको समय दिएका थिए । मंसिर २१ गतेसम्म कुनै पहल नभएपछि सात दिने अल्टिमेटम दिइएको थियो तर सो अवधिसम्म पनि मागप्रति कुनै चासो नदेखाइएको कर्मचारी पक्षको गुनासो छ ।

हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनक राज शर्मा रहेका छन् । कर्मचारीहरूको आन्दोलनका कारण प्राधिकरणको दैनिक कामकाज प्रभावित हुने गरेको देखिएको छ ।

कर्मचारी संघ र युनियनले उठाएका सात मागमध्ये प्रमुख रूपमा सञ्चालक समितिबाट स्वीकृत भई मन्त्रालयमा पेश भएको सेवा सुविधा तथा नयाँ दरबन्दी ९नयाँ संगठन संरचना० सहितको प्रतिवेदन तत्काल लागू गर्नु पर्ने र त्यसपछि मात्र पदपूर्तिको प्रक्रिया अघि बढाउनु पर्ने माग राखिएको छ ।

त्यसैगरी बीमा क्षेत्र अत्यन्त प्राविधिक भएकोले माथिल्लो तहमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा संस्थाको आवश्यकता अनुसारको जनशक्ति नपाइने भन्दै कर्मचारी विनियमावली संशोधन गरी उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा र कार्यसम्पादन मूल्यांकनका आधारमा मात्र पदपूर्ति गर्नु पर्ने माग गरिएको छ । कर्मचारी विनियमावलीमा प्राविधिक र प्रशासन समूह स्पष्ट नहुँदा भविष्यमा समस्या सिर्जना हुन सक्ने भन्दै सो विषय तत्काल समाधान गर्नु पर्ने, प्रदेश सरुवा र भौगोलिक अंकको व्यवस्था स्पष्ट पार्नु पर्ने माग पनि उनीहरूले राखेका छन् ।

त्यस्तै तालीम, मनोनयन, सरुवा, सुझावपेटिका लगायत कर्मचारीसँग सम्बन्धित विषयमा कर्मचारीको प्रतिनिधित्व रहने गरी सिफारिस समितिको आधारमा निर्णय गर्नु पर्ने, निर्देशक पदमा अधिकतम सेवा अवधि ९क्याप० तोक्नु पर्ने, प्राधिकरणको उत्तराधिकारी योजना यथाशीघ्र लागू गर्नु पर्ने तथा संस्थागत सुधार र विकासका लागि अन्तर्राष्ट्रिय स्तरका संस्थामार्फत पुनःसंरचना गर्नुपर्ने माग कर्मचारी पक्षको छ ।

कर्मचारीहरूले माग सम्बोधन नभएसम्म चरणबद्ध रूपमा आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*