सुस्त पुँजी बजारः निरन्तर डुब्दै लगानी, कहिलेसम्म ‘पर्ख र हेर’को अवस्थामा ?

८ पुष २०८२, मंगलवार १५:०५

काठमाडौँ । शेयर बजार झिनो अकंले बढेको छ । निरन्तर सुस्त रहेको बजार आज भने सामान्य अकंले बढेको हो । बजार लगातार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ। घट्दो शेयर मूल्यले नाफा कमाउने अपेक्षामा रहेका लगानीकर्तालाई दबाबमा पारेको छ भने नयाँ लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन्। निरन्तर उतार–चढाव भइरहेकाले लगानीकर्ताले सहज रूपमा कारोबारमा फर्किन सकेका छैनन्।

विशेषगरी दीपेन्द्र अग्रवालसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्य आज तीव्र गिरावटमा रहेको छ। अग्रवालमाथि शेयर मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार गरेको र मूल्य प्रभावित गर्ने कसुरमा कारबाही प्रक्रिया अघि बढेसँगै यी कम्पनीप्रति लगानीकर्ताको विश्वास कमजोर भएको छ। यसको प्रत्यक्ष प्रभाव कम्पनीहरूको शेयर मूल्यमा देखिएको छ।

नेप्से सूचक हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि सीमित रहँदै उतार–चढाव भइरहेको छ। बजारले स्पष्ट दिशा लिन नसकेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ। निरन्तर घट्दै जाने र कहिले स्थिरजस्तो देखिने बजारको अवस्थाले कारोबार रकम अपेक्षाकृत कम रहेको छ।

अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका प्रयासहरू भए पनि व्यवहारमा प्रभावकारिता कम देखिएको छ। राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाका त्रैमासिक वित्तीय विवरण र बढ्दो खराब कर्जा मुख्य अस्थिरताका कारण मानिएका छन्। ठूला लगानीकर्ता समूह र संगठित चलखेलको सम्भावनाले पनि बजारमा अनिश्चितता थपेको विश्लेषकहरूको मत छ। स्पष्ट नीति, प्रभावकारी नियमन र स्थिर राजनीतिक वातावरण नआउँदासम्म बजार सुधार सहज देखिँदैन।

नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ६ उपसूचक राताम्य भएको छ । आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*