सेवा प्रवेशदेखि बढुवासम्म नक्कली प्रमाणपत्रको भर, प्रहरीका वरिष्ठ उपरीक्षक गिरीविरुद्ध मुद्धा दर्ता

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लालबाबु गिरीमञ्जमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश र बढुवा लिएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्ति अनुसार अनुसन्धानका क्रममा प्राप्त उजुरी र प्रमाणका आधारमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत लालबाबु गिरीले सन् १९८८ मा भारतको पटनास्थित बिहार विद्यालय परीक्षा समितिबाट माध्यमिक परीक्षा (एस.एल.सी.) उत्तीर्ण गरेको देखाएको दाबी गरिएको थियो। तर, सो परीक्षा समितिबाट प्राप्त अभिलेख अनुसार अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको पाइएपछि उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ।
अनुसन्धानले देखाएको छ कि लालबाबु गिरीले नक्कली प्रमाणपत्रको प्रयोग गर्दै मिति २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पी.सी.एल. इन नर्सिङ् र मिति २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङ् पनि हासिल गरेको दाबी गरेका थिए। यी झूटा प्रमाणपत्र पेश गरी उनी मिति २०५२/०९/१६ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति भएका थिए। त्यसपछि पनि सोही नक्कली प्रमाणपत्रका आधारमा लगातार बढुवा लिएका छन्।
अख्तियारका अनुसार, लालबाबु गिरीले नक्कली प्रमाणपत्रको प्रयोगबाट नेपाल प्रहरीले प्रदान गरेका पद, ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेका छन्। यसरी उनले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार अपराध गरेको पुष्टि भएको छ।













