शरद ओझाको बीमा प्राधिकरण फर्कने योजना सकियो, फर्जी योग्यता सम्बन्धी मूल मुद्दाको फाइल पेश गर्न आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको फर्कने योजनामा दोस्रो पटक धक्का लागेको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र टेक प्रसाद ढुंगानाको यही पुस ६ गतेको इजलासले मन्त्रिपरिषदबाट हटाउने निर्णयका विरुद्धमा शरद ओझाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै यसअघिको मुल मुद्दा नं ०८१–डब्लुओ–१०६६ को फाइल साथै राखी पेश गर्न आदेश जारी भएको छ ।
साथै यसअघि ओझाले नै साउन ८ गते दायर गरेको अर्को मुद्दाको फाइल समेत साथै राखी पेश गर्न आदेश जारी भएको छ । अब ओझाको चार वटै मुद्दाका फाइल एकै ठाउँमा पुगेर बहस हुनेछ । पुराना मुद्दाहरु पनि जोडिएपछि ओझाको पुनर्बहाली हुने सम्भावना छैन । सर्वोच्च अदालतका फाइलहरु जलेकाले केही समय पछि नयाँ पेशी तोकेर बहस हुने विश्वास गरिएको छ ।
ओझाले अनुभव सम्बन्धी योग्यताको प्रमाणपत्र फर्जी रुपमा तयार पारी नेपाल सरकार समक्ष पेश गरी झुक्याएर नियुक्ती लिएको सम्बन्धमा बीमापोष्टले समाचार प्रकाशित गरेको थियो । सोही आधारमा दायर भएको मुद्दा अहिले बिचाराधिन अवस्थामा छ । न्यायाधीशहरुले समेत ओझालाई फर्काउन चाहेको बेला प्रधानन्यायाधीशको इजलासमा परेको मुद्दाले नयाँ मोड लिएको हो ।













