वाइफाई ६ सहित नेपाल टेलिकमको एफटीटीएच अपग्रेड, अब न्यूनतम १०० एमबीपीएस स्पिड

९ पुष २०८२, बुधबार १६:२४

काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ । वाइफाई ६ प्याकेजअन्तर्गत अब न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने कम्पनीले जनाएको छ ।

यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउन लागेको हो । नयाँ प्रविधिका उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या समाधान हुने र इन्टरनेटको गति थप तीव्र हुने टेलिकमको दाबी छ । वाइफाई ६ प्रविधिले धेरै डिभाइस एकैपटक कनेक्ट गर्न, सबै प्रयोगकर्ताले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन तथा सुरक्षित र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

ग्राहकका लागि वाइफाई ६ अन्तर्गत इन्डिभिजुअल र प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध गराइनेछ । इन्डिभिजुअल प्याकेजअन्तर्गत इन्टरनेट र टेलिफोन, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन तथा इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन मध्ये कुनै एक प्याकेज रोज्न सकिनेछ । त्यसैगरी प्रिमियम प्याकेजअन्तर्गत प्रिमियम इन्टरनेट मात्र, प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी तथा प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज छनोट गर्न सकिनेछ ।

यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमतामा उपलब्ध हुनेछन् भने मोबाइलका लागि डाटा सुविधा पनि समावेश रहने टेलिकमले जनाएको छ ।

वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचको नयाँ दररेट तथा अन्य विवरण नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिनेछ । साथै ‘नेपाल टेलिकम’ एप प्रयोग गरी प्याकेजसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ । यसबारे थप जानकारीका लागि १९८ मा फोन गर्न वा नजिकको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*