लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारणसभा

काठमाडौं । नागरिक लगानी कोषको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे एकतीसौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ।
त्यसैगरी कोषको सञ्चालक समितिमा एक जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिल खारेज (बूक क्लोज) गर्ने जानकारी दिएको छ।













