पर्सा बहुदरमाई नगरपालिकाको ठेक्कापट्टामा भ्रष्टाचार

काठमाडौं । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ।
बहुदरमाई नगरपालिका वडा नं. २ अन्तर्गत बैरिया पानीटंकी प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रे गर्ने कार्यका लागि आ.व. २०८०/८१ मा ठेक्का लगाउँदा मिलेमतो गरी भ्रष्टाचार गरेको पाइएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्कासम्बन्धी सूचना राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा स्पष्ट रूपमा प्रकाशन गर्नु पर्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साह र ‘जन प्रतिबिम्ब दैनिक’ का प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहले सेटिङ्गमा ठेक्काको सूचना सार्वजनिक रूपमा नछापी अभिलेखमा मात्र देखिने गरी पत्रिकाको एक प्रति मात्र प्रयोग गरिएको पाइएको छ।
अनुसन्धानको क्रममा प्रेस काउन्सिल नेपालबाट प्राप्त विवरणअनुसार जन प्रतिबिम्ब दैनिकमा छापिएको भनिए तापनि उक्त सडक मर्मतसम्बन्धी कुनै पनि बोलपत्र सूचना प्रकाशित नभएको पाइएको छ। अर्थात् ठेक्कासम्बन्धी सूचना सर्वसाधारणले थाहा पाउने गरी सार्वजनिक नै नगरी भ्रष्टाचार गरेको खुलेको हो।
त्यसैगरी सो ठेक्काको सूचना प्रकाशन नै नगरी झुट्टा बिल र भरपाई तयार गरी जन प्रतिबिम्ब दैनिकलाई ६५ हजार रुपैयाँ भुक्तानी गरिएको पनि अनुसन्धानबाट खुलेको छ। यसरी आपसी मिलेमतोमा सार्वजनिक सूचना लुकाएर झुट्टा बिलको आधारमा भुक्तानी दिएको खुलेपछि अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको हो।













